Nepal Purbadhar

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौंदेखि जमेको चुनाको तह हटाइँदै


काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा वर्षौंदेखि जम्दै आएको चुनाको बाक्लो तह हटाउने कार्य सुरु गरिएको छ।

महाचैत्यको पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्व संरक्षण गर्ने उद्देश्यले सफाइ तथा जीर्णोद्धार अभियान सञ्चालन गरिएको हो। परम्पराअनुसार बुद्ध पूर्णिमालगायत विभिन्न धार्मिक अवसरमा श्रद्धालुहरूले महाचैत्यमा सेतो चुना पोत्ने चलन रहँदै आएको छ। वर्षेनी यसरी चुना थपिँदै जाँदा गुम्बजमा बाक्लो तह जम्ने भएकाले निश्चित अवधिपछि पुरानो तह हटाउने गरिन्छ।

हाल गुम्बजमा जमेको चुनाको तह १३ देखि १५ इन्चसम्म पुगेको पाइएको छ। अत्यधिक मात्रामा चुना जम्दा संरचनामा अतिरिक्त भार पर्नुका साथै महाचैत्यको मौलिक आकार, गोलाइ तथा पुरातात्त्विक स्वरूपसमेत ओझेलमा पर्ने जोखिम रहेको बताइएको छ।

यसअघि करिब १२–१३ वर्षअघि गरिएको सफाइका क्रममा गुम्बजमा जमेको चुनाको तह २२ देखि ३० इन्चसम्म पुगेको पाइएको थियो। त्यसयता पनि नियमित रूपमा चुना पोतिँदै आएकाले पुनः बाक्लो तह बनेको हो।

पुरातत्त्व विभागको अनुमति तथा प्राविधिक निगरानीमा स्वयम्भू व्यवस्थापन समितिका कर्मचारी र दक्ष कालिगढहरूले अत्यन्त सावधानीपूर्वक पुरानो चुना हटाउने काम गरिरहेका छन्। सफाइका क्रममा मूल संरचनामा कुनै क्षति नपुग्ने गरी विशेष सतर्कता अपनाइएको जनाइएको छ।

करिब एक महिनाभित्र सफाइ कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ। सफाइपछि महाचैत्य आफ्नो मौलिक पुरातात्त्विक स्वरूप र प्राचीन सौन्दर्यसहित पुनः देखिने विश्वास गरिएको छ।

काठमाडौं उपत्यकाको इतिहास, संस्कृति र सभ्यतासँग गहिरो सम्बन्ध रहेको स्वयम्भू महाचैत्यको संरक्षण अभियानलाई स्थानीय समुदाय, बौद्ध भिक्षु, सम्पदाविद् तथा सम्पदाप्रेमीहरूले चासोका साथ हेरिरहेका छन्। संरक्षणविद्हरूले यस अभियानलाई विश्व सम्पदा क्षेत्रको मौलिकता जोगाउने महत्वपूर्ण प्रयासका रूपमा लिएका छन्।


Read Previous

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सकियो, ४९ ब्रान्डको सहभागि हुने

Read Next

विकास आयोजना कार्यान्वयनलाई गति दिन नयाँ कानुनको प्रस्ताव, प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति गठन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar