
वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज भन्सार नाकामार्फत ४ अर्ब २ करोड रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विद्युतीय सवारीसाधन आयात मूल्य २ अर्ब ३७ करोड रुपैयाँ अर्थात् १४३.६ प्रतिशतले बढेको हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा यो नाकाबाट १५ हजार २७१ वटा विभिन्न प्रकारका विद्युतीय सवारीसाधन आयात भएका छन्। यससँगै विद्युतीय सवारीसाधनबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा वीरगञ्ज नाकाबाट १ अर्ब ६५ करोड रुपैयाँ मूल्यका ९ हजार ४२ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए। ती सवारीसाधनबाट ८१ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।
चालु आवमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमतासम्मका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। ती सवारीसाधनको कुल मूल्य १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने त्यसबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको सोही अवधिमा भने यही क्षमताका केवल ६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका थिए, जसको मूल्य २ करोड ६ लाख रुपैयाँ थियो।
त्यस्तै, चालु आवको १० महिनामा १ अर्ब १७ करोड रुपैयाँ मूल्यका ८ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। ती सवारीसाधनबाट ३८ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको सोही अवधिमा ९६ करोड रुपैयाँ मूल्यका ४ हजार ८३४ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका थिए, जसबाट २० करोड १५ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो।
सूचना अधिकारी विष्टका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकाबाट इन्धन तथा विद्युत्बाट चल्ने सवारीसाधन र तिनका पार्टपुर्जा गरी ३१ अर्ब ३१ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात भएका छन्।
गत आवको सोही अवधिको तुलनामा सवारीसाधन तथा पार्टपुर्जाको आयात मूल्य ९ अर्ब ६५ करोड रुपैयाँ अर्थात् ४४.५८ प्रतिशतले वृद्धि भएको छ।
चालु आवमा १ अर्ब २५ करोड रुपैयाँ मूल्यका ६२८ वटा जीप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनबाट भन्सार कार्यालयले ३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड रुपैयाँ मूल्यका ८५५ वटा जीप, कार र भ्यान आयात भएका थिए।
यस्तै, चालु आवको १० महिनामा ७ अर्ब ३२ करोड रुपैयाँ मूल्यका ५१ हजार ४२३ वटा अन–एसेम्बल्ड मोटरसाइकल आयात भएका छन्। ती मोटरसाइकलबाट ७ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको सोही अवधिमा यस्ता मोटरसाइकलको आयात मूल्य ५ अर्ब २१ करोड रुपैयाँ रहेको थियो।







