Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

दुर्गम बस्ती मङ्गलेमा केन्द्रीय विद्युतीकरण


बेनी (म्याग्दी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमङ्गलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो ।

एक्काइस घरधुरीको रहेको कुइनेमङ्गलेमा बिजुली बत्ती बलेपछि सर्वसाधारण हर्षित बनेको स्थानीयवासी नरप्रसाद छन्त्यालले बताए । उनका अनुसार यसअघि चिमखोलाको बगरखोला लघुजलविद्युत्बाट विद्युत् सुविधा पुगेको भए पनि मलाङको भीषण पहिरोले बिजुलीका पोल बगाएपछि गाउँ अन्धकार बनेको थियो ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले रघुगङ्गा गाउँपालिका–५ मूलपानीबाट मङ्गलेतर्फ केन्द्रीय विद्युत्को मुख्य लाइन विस्तार र ट्रान्सफर्मर जडान गरी घरघरमा मिटर बक्स जडान गरेपछि गाउँ उज्यालो बनेको छ ।

आर्थिक वर्ष २०७७/७८ बाट केन्द्रीय विद्युतीकरण विस्तार गर्ने योजना अघि बढेको र यसै साता यस क्षेत्रका ८७ घरमा मिटरबक्स जडान सकेर बिजुली बत्ती बाल्न सुरु भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाका प्राविधिक प्रमुख शिवराज पौडेलले जानकारी दिए । मुख्य लाइन र शाखा लाइनसँगै २५ केभिए र ५० केभिएका दुई वटा ट्रान्सफर्मर जडान गरेर यस क्षेत्रमा विद्युतीकरणको पहुँच विस्तार भएको उनले बताए ।

सडकमार्ग हुँदै चिमखोला पु¥याइएको ट्रान्सफर्मरलाई मलाङमा गएको पहिरोले सडक अवरुद्ध भएपछि यहाँ निर्माणधीन जलविद्युत् आयोजनाको सुरुङमार्गबाट गौडामुनी पु¥याइएको थियो । गत वर्षसम्म म्याग्दीका ९३ प्रतिशत घरधुरीमा विद्युतीकरणको पहुँच पुगेको थियो । अहिलेसम्म जिल्लामा केन्द्रीय विद्युतीकरणको सुविधा लिएका ग्राहक सङ्ख्या कूल २२ हजार रहेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिए ।

म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न चालु आर्थिक वर्षका लागि रु २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको छ । बेनी वितरण शाखाले तयार गरेको लागत अनुमानका आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशिक कार्यालय पोखराले चालु आवमै ठेक्का प्रक्रियामार्फत अघि बढाउने तयारी गरेको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले जानकारी दिए ।


Read Previous

सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

Read Next

कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

Leave a Reply

Your email address will not be published.