Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

आन्तरिक पर्यटनको गन्तव्यस्थल बन्दै ‘ऐनापहरा’


दमौली । हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ । स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ ।

गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यस ठाउँमा सबैको ध्यान खिचेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम सुरु गरेको थियो ।

ढुङ्गामा आकृति देखिन थालेपछि अहिले यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पृथ्वी राजमार्गबाट नजिकै रहेको यहाँ मुग्लिनतर्फबाट पोखरा आउने पर्यटक सवारी साधन रोकेर पुग्ने गरेका छन् । गाउँपालिकाले ढुङ्गामा खोपेको आकृतिले धेरैको ध्यान खिचेको स्थानीय मनोजकुमार श्रेष्ठले बताए । स्थानीय विजय गुरुङले राजमार्ग नजिकै भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताए ।

सामाजिक सञ्जालबाट पनि यस ठाउँको प्रचारप्रसार हुन थालेपछि ऐनापहरा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् । उनले भने, “गत माघदेखि यहाँका ढुङ्गामा आकृति बनाउने काम भइरहेको छ । आकृति लगभग अन्तिम चरणमा पुगेको छ । यसले आकर्षक देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्यो ।”

ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडि बढाइएको हो । पृथ्वी राजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवद्र्धनमा जुटेको हो । यत्तिकै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानको भनाइ छ । ऐनापहरामा पार्क निर्माणका लागि गत आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


Read Previous

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा

Read Next

कैकु–खन्ती खण्ड कालोपत्र भएपछि यात्राअवधि छोटियो

Leave a Reply

Your email address will not be published.