Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

नियमित, भरपर्दो र गुणस्तरीय विद्युत सेवा अबकाे प्राथमिकता


विद्युत उत्पादन, प्रसारण र वितरणलाइ सक्षम, भरपर्दो र सर्वसुलभ गरी आम उपभोक्ताहरुलाई गुणस्तरीय विद्युत सुपथ मुल्यमा उपलब्ध गराउन प्रतिबद्ध नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा हामीलाई सहयोग र साथ दिने आम विद्युत उपभोक्ताहरु तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार छ।  विगतका वर्षहरुमा जस्तै गत आ.व. २०७९/८० मा पनि विद्युत उत्पादनमा बृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएका छौं।

हाम्रो निरन्तर प्रयासबाट विगत सात वर्षदेखि प्राधिकरणले मुनाफा आर्जन गर्दै आइरहेको छ। गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्व ३३ करोड रूपैयाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्व  ६७ करोड पुगेको छ। साथै अघिल्लो आ.व. मा १५.३८ प्रतिशत रहेको विद्युत चुहावटलाइ घटाइ आ.व. २०७९/८० मा १३.४६ प्रतिशतमा सीमित गर्न सफल भएका छौं, जुन प्राधिकरणको इतिहासमा हाल सम्मकै न्यून हो।

प्रधानमन्त्रीकाे हालैको भारत भ्रमणबाट दिर्घकालीनरुपमा भारतसँग विद्युत व्यापार गर्ने मार्ग प्रशस्त भएको छ भने अन्तर्देशीय विद्युत व्यापारको बजार विस्तार भइ अतिरिक्त ऊर्जा अन्य छिमेकी देशहरुमासमेत निर्यात गर्ने अवसर सृजना भएको छ। आ.व. २०७९/८० मा विभिन्‍न जलविद्युत आयोजना सम्पन्‍न भइर ४९१ मेगावाट विद्युत प्राधिकरणको प्रणालीमा थप भइ कुल जडित उत्पादन क्षमता २६८४ मेगावाट पुगेको छ। गत वर्ष सुख्खायाममा प्राधिकरण तथा स्वतन्त्र विद्युत उत्पादकहरुको विद्युत उत्पादन केन्द्रबाट प्रक्षेपण गरिए भन्दा कम विद्युत उत्पादन हुन गएकोले केही बढी परिमाणमा विद्युत आयात गरी माग पूर्ति गरिएको थियो।

इन्टरनेशनल क्रेडिट रेटिङ एशोसिएशन- इक्राले प्राधिकरणको आर्थिक अवस्थाको मुल्याङ्कन गरी डबल ए प्लस रेटिङ्ग गरेको छ। प्राधिकरणको तेश्रो आर्थिक पुन:संरचना स्वीकृति प्राप्‍त हुने चरणमा रहेको छ। सोको स्वीकृति पश्‍चात प्राधिकरणले सर्वसाधारणलाइ प्रिमियम मुल्यमा शेयर जारी गर्न सक्ने छ।
सूचना तथा सञ्‍चार प्रविधिको महत्वलाइ आत्मसात गरी प्राधिकरणले आ.व.२०७९/८० मा सूचना प्रविधि नीति, २०२३ जारी गरेको छ। उक्त नीतिमा उल्लेख भएबमोजिम प्राधिकरणबाट प्रभावकारी रुपमा कार्य सम्पादन गर्न र गुणस्तरिय सेवा प्रदान गर्न डिजिटल प्रविधिको व्यापक उपयोग गर्ने योजनाहरु कार्यान्वयन गरिने छ।

अनलाइन पोर्टल र मोबाइल एप्लिकेशनमार्फत ग्राहकहरुले सहजरुपमा विद्युत महसुल भुक्तानी गर्न र गुनासो दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। ग्राहकहरुको गुनासो समयमै संबोधन गर्न र सेवाको स्तर बृद्धि गर्नका साथै अन्य आवश्यक जानकारी उपलब्ध गराउन प्रादेशिक कार्यालयहरुमा कल सेन्टर स्थापना गरी सञ्‍चालनमा ल्याइएको छ।

केन्द्रीकृत पेरोल तथा पेन्सन प्रणालीको कार्यान्वयनबाट कर्मचारीको तलब-भत्ता, कर्मचारी सञ्‍चयकोष, नागरिक लगानी कोष, आयकर, अवकास भुक्तानी जस्ता विविध भुक्तानी प्रकृयाहरु सहज हुन गएको छ। साथै प्राधिकरणमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको व्यक्तिगत विवरण लगायतका अभिलेखहरु डिजिटल प्रणालीमा राखी निकट भविष्यमा सबै कार्यालय तथा कर्मचारीको पहुँच हुने गरी सञ्‍चालनमा ल्याइने छ। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सिद्धान्तहरुलाइ अनुशरण गरी प्राधिकरणको हरेक कृयाकलापमा महिला तथा सिमान्तकृत समुदायको सहभागितालाइ प्राथमिकता दिन प्राधिकरणले जेन्डर इक्वीलिटी एण्ड साेसियल इन्क्लुजन स्ट्राटिजी एण्ड अपरेशनल गाइडलाइन्स लागू गरेको छ।

प्राधिकरणले गत आ.व.२०७९/८० मा सम्पादन गरेका कार्य र त्यसबाट प्राप्‍त नतिजा सहितको विवरण देहायबमोजिम रहेको छ:

क) ग्राहक संख्या

आ.व. २०७९/८० मा ४७ लाख ७० हजार ग्राहक रहेकोमा आ.व. २०७९/८० मा ७.७६ प्रतिशतले बृद्धि भइ ५१ लाख ३० हजार पुगेको छ। सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत सेवा उपभोग गरिरहेका ५ लाख १० हजार ग्राहक सहित राष्‍ट्रिय ग्रीडबाट विद्युत सेवा उपभोग गर्ने ग्राहको संख्या ५६ लाख ४० हजार पुगेको छ। हाल राष्‍ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्‍त गरिरहेका छन् । आगामी २ वर्ष भित्र सम्पूर्ण जनतालाइ विद्युतको पहुँच पुर्याउने गरी वितरण प्रणाली निर्माण कार्य अगाडि बढाइएको छ।

ख) विद्युत उत्पादन

गत वर्ष सुख्खायाममा नदीहरुमा जलप्रवाहको स्तर घट्न गइ प्राधिकरणको जलविद्युत गृहहरुबाट कुल २ अर्व ९३ करोड युनिट विद्युत उत्पादन भएको छ। जुन आ.व.२०७९/८० को तुलनामा १०.१० प्रतिशतले कम रहेको छ। आ.व. २०७९/८० मा स्वतन्त्र ऊर्जा उत्पादक तथा प्राधिकरणको सहायक कम्पनीहरुबाट क्रमश: ५ अर्व ११ करोड र २ अर्व ४८ करोड युनिट विद्युत खरिद गरिएको छ जुन आ.व. २०७८/७९ को तुलनामा क्रमश: १९.४१ प्रतिशत र २५.९१ प्रतिशतले बढी रहेको छ।

ग) विद्युत आयात तथा निर्यात

भारतबाट गत आ.व. मा १ अर्व ८३ करोड युनिट विद्युत आयात गरिएको छ। जुन आ.व. २०७८/७९ को तुलनामा १८.७९ प्रतिशतले बढी रहेको छ। प्रणालीमा आ.व. २०७८/७९ को तुलनामा ११.८० प्रतिशतले बढी अर्थात १२ अर्व ३६ करोड युनिट ऊर्जा उपलब्ध भएको छ। कुल उपलब्ध ऊर्जामा प्राधिकरण तथा यसका सहायक कम्पनीहरुको योगदान ४३.८० प्रतिशत स्वदेशी स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट उत्पादित ऊर्जाको योगदान ४१.३८ प्रतिशत र भारतबाट आयातित ऊर्जाको योगदान १४.८२ प्रतिशत रहेको छ। आ.व.२०७८/७९ मा ४९ करोड युनिट मात्र विद्युत भारत निर्यात गरिएकोमा आ.व. २०७९/८० मा  १ अर्व ३४ करोड युनिट विद्युत निर्यात भएको छ।

घ) विद्युत खपत

आ.व.२०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा विद्युत खपत ५.५० प्रतिशतले बृद्धि भइ ९ अर्व ३५ करोड युनिट पुगेको छ।

ङ) विद्युत चुहावट

प्रणालीको विद्युत चुहावट आ.व. २०७९/८० मा १३.४६ प्रतिशत रहेको छ। जुन आ.व. २०७८/७९ को तुलनामा १.९२ अंकले कमी हो। प्राधिकरणको इतिहासमा यो नै अहिलेसम्मको कम चुहावट हो।

च) वित्तिय अवस्था

स्वदेशी जलविद्युत गृहहरुबाट विद्युत उत्पादन घट्न गएकोले आयातित विद्युत ऊर्जाको परिमाण बढ्न जाँदा आ.व. २०७९/८० मा प्राधिकरणको खुद नाफा आ.व. २०७८/७९  तुलनामा ७.७६ प्रतिशतले कमी भइ रु. १२ अर्व ३३ करोड रूपैयाँ हुन गएको छ।

छ) आयोजनाहरु

इन्जिनियरिङ्ग सेवा निर्देशनालय अन्तर्गत जवा तिला, भारभूङ, वेगनाश रुपा पम्प स्टोरेज र माथिल्लो मुस्ताङ्ग जलाशययुक्त जलविद्युत आयोजनाहरुको अध्ययन कार्य अगाडि बढाइएको छ। साथै ४९०.२ मेगावाटको अरुण-४ जलविद्युत आयोजना निर्माणका लागि सतलज जलविद्युत निगम भारतसँग संयुक्त उपक्रमको कम्पनी स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भैसकेको छ।

आ.व. २०७९/८० मा ६६ के.भी. तथा सो भन्दा माथिका प्रसारण लाइन ४१३ सर्किट कि.मी. थप भइ कुल सञ्‍चालन रहेको ६६ के.भी. र सो भन्दा माथिका प्रसारण लाइनको लम्बाइ ५७४२ सर्किट कि.मी. पुगेको छ। गत आ.व. मा १७१८ एम.भी.ए. क्षमता बराबरको ग्रीड सवस्टेशन थप भएको छ। यो सँगै कुल सवस्टेशनको जडित क्षमता ८८६७ एम.भी.ए. पुगेको छ। १३२ के.भी., २२० के.भी. र ४०० के.भी. का क्रमश: १४३४ सर्किट कि.मी., ९८८ सर्किट कि.मी. र ८७७५ सर्किट कि.मी. गरी ३१७५ सर्किट कि.मी. प्रसारण लाइन र १०२९० एमभिए क्षमताको ग्रीड सवस्टेशनहरु निर्माणाधीन अवस्थामा रहेका छन्।

ज) वितरण प्रणाली

प्रत्येक नेपालीको घरदैलोमा नियमित र भरपर्दो विद्युत सेवा पुर्‍याउन वितरण प्रणाली विस्तारको कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ। वितरण प्रणालीको स्तरोन्‍नती एवम् शहरको सुन्दरता अभिबृद्धि हुनेगरी काठमाडौं उपत्यका लगायत पोखरा र भरतपुरमा वितरण प्रणालीलाइ भूमिगत गर्ने कार्यहरु भैरहेका छन्।

प्राधिकरणले पहिलो चरणमा रत्‍नपार्क र महाराजगञ्‍ज वितरण केन्द्रको ९७,००० घर धुरीमा स्मार्ट मिटर जडान गर्ने कार्य सम्पन्‍न गरी सञ्‍चालनमा आइसकेको छ। दोस्रो चरणमा काठमाडौं उपत्यकाको ६ लाख ग्राहकको घरमा पूर्व जडित मिटरलाइ स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ्ग पूर्वाधार प्रणालीमा एकिकृत वा आवद्ध गर्ने कार्य छिट्टै शुरु गरिने छ। साथै मुलुकभर स्मार्ट मिटर जडान गर्ने कार्यलाइ प्रभावकारीरुपमा अगाडि बढाइने छ।
वितरण केन्द्रहरुमा आय व्यवस्थापन प्रणाली जडान गर्ने कार्य अगाडि बढाइएको छ। प्रणाली सञ्‍चालन विभाग, स्यूचाटारको परिसरमा वितरण प्रणाली नियन्त्रण तथा डाटा केन्द्र निर्माण सम्पन्‍न हुने चरणमा रहेको छ।

झ) अन्य गतिविधि

विद्युतीय सवारी साधन र विद्युतीय चुल्होका साथै अन्य घरायसी उपकरणहरुको प्रर्वद्धन विभिन्‍न कार्यक्रमहरुलाइ निरन्तरता दिइएको छ। प्राधिकरणले डिसी फास्ट चार्जिङ टेक्नाेलाेजीमा आधारीत ५१ वटा विद्युतीय सवारी साधन चार्जिङ्ग स्टेशन मुलुकको प्रमुख स्थानहरुमा जडान गरी सञ्‍चालनमा ल्याइसकेकाे छ भने थप १३ वटा चार्जिङ्ग स्टेशन विभिन्‍न स्थानमा जडान गर्ने कार्य भैरहेको छ।

ञ) सहायक कम्पनीहरू

प्राधिकरणको सहायक कम्पनीको रुपमा स्थापित विभिन्‍न कम्पनी तथा सो मार्फत सञ्‍चालित आयोजनाहरुको कार्य प्रगति निम्नानुसार रहेका छन्:

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र माथिल्लो तामाकोशी हाइर्ड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित क्रमश:२२.१ मेगावटको चिलिमे जलविद्युत केन्द्र र ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्र सञ्‍चालनमा रहेका छन्। साथै माथिल्लो तामाकोशी हाइर्ड्रोपावर लिमिटेडले इपिसी मोडलमा २०.६६ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माण प्रारम्भ गरेको छ।

चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनीहरुमार्फत १११ मेगावाटको रसुवागढी १०२ मेगावाटको मध्यभोटेकोशी,४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाहरु निर्माण सम्पन्‍न हुने अबस्थामा रहेका छन् भने ८७ मेगावाटको सेती नदी ३ जलविद्युत आयोजनाको निर्माण प्रकृया अघि बढाएको छ।

१४० मेगावाटको तनहुँ, ३७ मेगावाटको त्रिशुली ३ बी,४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन्। तनहुँ जलविद्युत कम्पनीमार्फत १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको अध्ययन पुरा भइ कार्यान्वयनको चरणमा रहेको छ। यसैगरी १०६१ मेगावाटको माथिल्लो अरुण,४० मेगावाटको इखुवा खोला, ९९.८ मेगावाटको तामाकोशी पाचौं, ६० मेगावाटको मोदी, २१० मेगावाटको चैनपुर सेती र ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरु निर्माण शुरु हुने चरणमा रहेका छन्।

८२८ मेगावाटको उत्तरगंगा र १८० मेगावाटको आँधीखोला जलाशययुक्त जलविद्युत आयोजनाहरु अध्ययनका विभिन्‍न चरणमा रहेका छन् । एनइए इन्जिनियरिङ्ग कम्पनीले विभिन्‍न आयोजनाको सम्भाव्यता अध्ययन, इन्जिनियरिङ डिजाइन, विस्तृत इन्जिनियरिङ डिजाइन तथा अध्ययनको पुनरावलोकन, सिभिल, हाइड्रो-मेकानिकल, इलेक्ट्रो मेकानिकल, आयोजना व्यवस्थापन, ट्रान्समिशन लाइन तथा वितरण प्रणाली सञ्‍चालन, मर्मत सम्भार तथा पुनःस्थापना लगायतका विभिन्‍न पूर्वाधार निर्माणको क्षेत्रमा परामर्शदाताको रुपमा सेवा प्रदान गरिरहेको छ।

नेपाल पावर ट्रेडिङ कम्पनीले विद्युत व्यापार गर्ने अनुमति प्राप्‍त गरिसकेकाले निकट समयमा कारोबार सञ्‍चालन गर्ने अवस्था रहेको छ। पावर ट्रान्समिसन कम्पनी नेपालले ढल्केबर र मुजफ्फरपुर बीचको ४०० केभी डबल सर्किट लाइनको नेपाल अंश निर्माण गरी सञ्‍चालन गरिरहेको छ।

ट) निजी क्षेत्रको सहभागिता

गत वर्ष स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट ४९१ मेगावाट क्षमता बराबरको कुल २७ वटा जलविद्युत आयोजनाहरु सम्पन्‍न गरी प्राधिकरणको प्रणालीमा जोडिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट हालसम्म २०२३ मेगावाट क्षमता बराबरको १५९ जलविद्युत आयोजनाहरु निर्माण सम्पन्‍न भइ सञ्‍चालनमा आएका छन् । जसमा प्राधिकरणको सहायक कम्पनीको हिस्सा ४७८ मेगावाट रहेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट प्रवर्द्धित ३१०३ मेगावाट क्षमता बराबर १२६ वटा बिभिन्‍न जलविद्युत आयोजनाको लगानी सुनिश्‍चित भइ निर्माण कार्य अगाडि बढेको छ ।

गत वर्ष ५ मेगावाट क्षमताको सौर्य प्लान्ट सहित कुल १३५० मेगावाट क्षमताको विभिन्‍न ३५ प्रवर्द्धकहरुसँग विद्युत खरिद सम्झौता भएको छ। हालसम्म स्वतन्त्र ऊर्जा उत्पादकहरुसंग ७७५८ मेगावाट क्षमता बराबरको कुल ३९२ वटा विद्युत खरिद सम्झौता भएको छ।

ठ) अन्तर्देशीय विद्युत व्यापार

नेपालको नदीहरुमा जल प्रवाह घटी विद्युत गृहहरुबाट निर्धारित परिमाणमा विद्युत उत्पादन हुन नसकेकोले उपभोक्ताहरुको विद्युतको माग पूर्ति गर्न थप विद्युत आयात गरिएको थियो। प्राधिकरण र भारतको राष्‍ट्रिय विद्युत व्यापार निगम एवम् प्राधिकरण र पिटिसि इन्डिया लिमिटेड बीच क्रमश:२०० मेगावाट र ३०० मेगावाटसम्म विद्युत खरिद बिक्री गर्न सकिने गरी भएको सम्झौतालाइ महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ।

प्राधिकरण र पावर ग्रीड कर्पोरेसन् इन्‍डीया लिमिटेड बीच समान स्व:पूँजी साझेदारीको अवधारणामा संयुक्त उपक्रम तथा साझेदारी सम्झौता र कार्यान्वयन तथा प्रसारण सेवा सम्झौतामा हस्ताक्षर भएसँगै अन्तर्देशीय प्रसारण पूर्वाधारतर्फ न्यू बुटवल-गोरखपुर ४०० के.भी. लाइन अन्तर्गत भारततर्फको प्रसारण लाइन निर्माण कार्य कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। हालसम्म नेपालले भारत सरकारबाट इन्डियन इनर्जि एक्स्चेञ्‍ज लिमिटेडको डे-अहेड बजारमा ४५२ मेगावाट विद्युत बिक्री गर्न सक्ने अनुमति प्राप्‍त गरेको छ भने थप परिमाण विद्युत बिक्रीको लागि सहमतिको चरणमा रहेको छ।

बंगलादेशमा ४० मेगावाट विद्युत मध्यकालिनरुपमा निर्यात गर्न प्राधिकरण, राष्‍ट्रिय विद्युत व्यापार निगम भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड  बंगलादेश बीच त्रिपक्षीय सम्झौता गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ। यससँगै नेपाल उप क्षेत्रीय अन्तर्देशीय विद्युत व्यापारमा प्रवेश गर्ने छ।

ड) भावि कार्यदिशाः

मुलुकलाइ ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्ताहरुलाइ नियमित, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराइ स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत निर्यात गर्ने दिशातर्फ प्राधिकरण अघि बढिरहेको छ।

प्राधिकरणले आफ्नै तथा सहायक कम्पनी एवम् संयुक्त उपक्रमको कम्पनीहरु मार्फत जलविद्युत आयोजनाहरु निर्माण गर्ने कार्यलाइ निरन्तरता दिइ ठूला जलाशययुक्त तथा आकर्षक जलविद्युत आयोजनाहरु निर्माणमा केन्द्रित रहने छ। ६३५ मेगावटको दुधकोशी जलाशयक्त आयोजना, १०६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर-सेती, ९९ मेगावाटको तामाकोशी-५ र ६० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाको निर्माण कार्य प्राथमिकताको साथ अगाडि बढाइने छ। त्यस्तै ४९०.२ मेगावाटको अरुण-४ जलविद्युत आयोजना सतलज जलविद्युत निगम लिमिटेडसँग संयुक्तरुपमा निर्माण गर्ने कार्य अघि बढाइने छ। नेपाल र बंगलादेशको चौथो संयुक्त निर्देशक समितिको बैठकमा समझदारी भएअनुरुप निकट भविष्यमा ६३८ मेगावाटको सुनकोशी तेश्रो जलविद्युत आयोजना साझेदारीमा निर्माण गर्ने प्रकृया अघि बढाइने छ।

उपलब्ध जलश्रोतको अधिकतम उपयोग गरी बर्षायाममा बढी विद्युत उत्पादन हुने गरी प्रवर्द्धकहरुले जलविद्युत आयोजनाहरुको डिजाइन गर्न सक्ने प्रावधान राखी नयाँ विद्युत खरिद सम्झौता नीति लागु गर्ने सम्बन्धमा आवश्‍यक अध्ययन गरी उपयुक्त व्यवस्था अवलम्बन गरिनेछ। न्यू बुटवल-गोरखपुर ४०० के.भी. अन्तर्देशीय प्रसारण लाइन निर्माण कार्यलाइ तिव्रता दिइनेछ। ४०० के.भी. अन्तर्देशीय प्रसारण लाइन आयोजनाहरुः इनरूवा-पुर्णिमा र दोदोधरा-बरेली सन् २०२८/२९ सम्ममा निर्माण सम्पन्‍न गर्ने गरी कार्यान्वयनमा लगिने छ। नेपालको रातमाटेदेखि चीनको केरुङ्ग जोड्ने उच्‍च भोल्टेजको प्रसारण लाइन निर्माण गर्न विशेष पहल गरिने छ।

काठमाडौं उपत्यकाको ६ लाख ग्राहकको घरमा पूर्व जडित मिटरलाइ स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ्ग पूर्वाधार प्रणालीमा आवद्ध गर्ने कार्य छिट्टै शुरु गरिने छ। साथै मुलुकभरका ग्राहकको घरमा जडान भएका मिटरलाइ क्रमश:स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य अगाडि बढाइने छ।नेपाल सरकारको लक्ष्य अनुसार आगामी २ वर्ष भित्र मुलुकभर प्रत्येक नेपालीको घरदैलोमा विद्युतको पहुँच पुर्‍याउन वितरण प्रणाली विस्तार गर्ने कार्य उच्च प्राथमिकतामा राखी सम्पन्‍न गरिने छ।

काठमाडौं लगायत मुख्य शहरहरुमा आगामी ३० वर्षको बढ्दो विद्युत मागलाइ लक्षित गरी पर्याप्‍त प्रसारण तथा वितरण संरचनाहरु निर्माण गर्ने कार्यलाइ प्राथमिकताका साथ अघि बढाइनेछ।उक्त कार्यबाट सन् २०५० सम्मको विद्युत माग धान्‍ने मात्र नभइ विद्युतको गुणस्तर बृद्धि तथा नियमित विद्युत आपूर्तिमा सहयोग पुग्नेछ ।

हुलाकी राजमार्ग हुँदै ४०० के.भी. तथा २२० के.भी. बहुसर्किट प्रसारण लाइन आयोजनाको निर्माण गर्न आवश्यक प्रकृया अगाडि बढाइने छ। यसबाट मुलुकको विभिन्‍न औद्योगिक कोरीडोरहरु जोड्न, औद्योगिक क्षेत्रको विद्युत माग व्यवस्थापन गर्न र भविष्‍यमा नेपाल-भारत सिमा क्षेत्रमा स्थापना हुने उद्योगहरुलाइ पर्याप्‍त विद्युत उपलब्ध गराउन एवम् छिमेकी राष्‍ट्रहरुसँग अर्न्तदेशीय विद्युत व्यापार गर्नसमेत सहज हुनेछ।

परम्परागत तथा खनिज ऊर्जालाइ प्रतिस्थापन हुने गरी ग्राहस्थ, कृषि, उद्योग र पर्यटन क्षेत्रमा जलविद्युतको खपतमा व्यापक बृद्धि हुनेगरी आवश्यक कार्यक्रमहरु सञ्‍चालन गरिनेछ। विद्युतीय सवारी साधनको प्रवर्द्वन गर्न डिसी फास्ट चार्जिङ टेक्नाेलाेजीमा आधारीत चार्जिङ्ग स्टेशन मुलुकको प्रमुख स्थानहरुमा जडान गर्ने कार्यलाइ प्राथमिकताका साथ अगाडि बढाइने छ। साथै निजी क्षेत्रलाइ समेत यस व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिने छ।

प्रधानमन्त्रीकाे हालैको भारत भ्रमणबाट आगामी १० वर्षमा १०,००० मेगावाट विद्युत भारत निर्यात गर्ने मार्ग तयार भएको छ। मौजुदा प्रसारण संरचनाहरु प्रयोग गरी नेपालबाट बंगलादेश विद्युत निर्यात गर्न सम्बद्ध निकायहरु प्राधिकरण, बंगलादेश विद्युत विकास बोर्ड र राष्‍ट्रिय विद्युत व्यापार निगम बीच त्रिपक्षीय सम्झौता छिट्टै सम्पन्‍न गरिने छ।

प्राधिकरणको सहायक कम्पनीको रुपमा स्थापना भएको नेपाल विद्युत व्यापार कम्पनीमार्फत निकट भविष्यमा स्वदेशी र अन्तर्देशीय विद्युत व्यापार प्रारम्भ गरिनेछ । हरित हाइड्रोजन कार्यक्रम सम्वन्धी ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूट, कोरिया र काठमाडौ विश्व विद्यालयसँगको प्राविधिक सहयोगमा नेपालमा हरित हाइड्रोजन उत्पादन र परिप्रयोगका सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनको चरणमा रहेको छ। हरित हाइर्ड्रोजन उत्पादन एवम् प्रवर्द्धनको लागि प्राधिकरणले विशेष पहलकदमी लिनेछ।

नेपाल सरकारको डिजिटल नेपालको परिकल्पना अनुरुप प्राधिकरणका समग्र काम कारवाहीहरुलार्इ आधुनिकिकरण गर्न, सुरक्षित, संतुलित र स्तरीय सूचना प्रविधि पूर्वाधारको सुनिश्‍चित गर्न ने.वि.प्रा. सूचना प्रविधि नीति, २०२३ कार्यान्वयन गरी डिजिटल प्राधिकरण निर्माणतर्फ केन्द्रित हुनेछ। प्राधिकरणको तेश्रो आर्थिक पुनःसंरचना स्वीकृतिको चरणमा रहेकोले सो को स्वीकृति पश्‍चात प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गरी थप पूर्वाधार निर्माणका लागि आवश्यक पूँजी व्यवस्थापन गर्न सक्ने छ।

प्राधिकरणको कार्यसम्पादनस्तर गुणात्मकरुपमा बृद्धि गरी प्रभावकारीरुपमा कार्य सञ्‍चालन गर्न कर्मचारीहरुको दक्षता, क्षमता र सीप अभिबृद्धि हुने विशेष तालिमहरु सञ्‍चालन गरी कर्मचारीलाइ सो तालिममा सहभागी गराइने छ। गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत आपूर्ति गरी उष्कृट सेवा प्रवाह गर्न सके मात्र प्राधिकरण प्रतिको विश्‍वसनियता बढ्ने र आर्थिक अवस्थामा समेत सुधार आउने भएकोले हाम्रा सम्पूर्ण प्रयासहरु त्यसतर्फ केन्द्रित हुनेछन्।


Read Previous

बागलुङको रातामाटा गाउँमा सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

Read Next

उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता र लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारी

Leave a Reply

Your email address will not be published.