Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

ठेकेदार बेपत्ता भएपछि मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक निर्माण अलपत्र   


म्याग्दी । ठेकेदार बेपत्ता भएपछि पर्वतकाे जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक अलपत्र बनेको छ । मिलनचोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर लामाे सडक स्तरोन्नति र कालोपत्र गर्ने कार्य अलपत्र परेकाे हाे ।

याे सडक निर्माण गर्न २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा हिमदुङ एण्ड थोकर प्रालीसँग ठेक्का सम्झौता भएकाे थियाे । ठेकेदार कम्पनीले समयमा काम सम्पन्न नगर्दा सडक निर्माण अलपत्र बन्न पुगेकाे हाे ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दोस्रो पटक २०८० मङ्सिर महिनासम्मका लागि म्याद थपिए पनि १८ महिनादेखि काम नहुँदा अलपत्र परेको धाइरिङका स्थानीय मनोहर आचार्यले बताए ।

धाइरिङका बासिन्दाले बेनी-मालढुङ्गा सडकको छेउमा सञ्चालक र सडक सममै सम्पन्न नहुँदाको अवस्था झल्काउने तस्विरसहित ‘ठेकेदार हराएको सूचना’ लेखेको ब्यानर झुण्ड्याएका छन् । सडक अधुरो हुँदा आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भूक्षयको समस्या बढेको स्थानीय दुर्गाबहादुर दर्जीले बताउनुभयो । सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिरोको जोखिम भएको छ ।

५.२५ मिटर चौडाइमा डिबिएसटी कालोपत्र हुने सडक ७ मिटर र एक मिटर नाली बनाउन धेरै ठाउँमा डोजरले भत्काइएको छ । अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलनचोकदेखि सल्यान खण्डमा ग्राभेलसमेत गरेर कालोपत्रको तयारी गरिएको थियो ।

निर्माणको कामले निरन्तरता नपाउँदा बनाइएका संरचना भत्किएर सडक जीर्ण बनेको स्थानीय बेदनाथ आचार्यले बताए । “यो सडक धाइरिङका एक हजारभन्दा बढी घरधुरीले प्रयोग गर्छन्”, उनले भने, “धाइरिङमा उत्पादित तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज हुने थियो ।”

पूर्वाधार विकास कार्यालयका प्रमुख  कृष्ण आचार्यले हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको बताए । “पछिल्लो एक/डेढ वर्षयता यो सडक निर्माणको काम नहुँदा हामी पनि सशङ्कित भएर पत्रमार्फत निरन्तर ताकेता गरेका छौं”, उनले भने, “निर्माण व्यवसायीले यही फागुन अन्तिम सातादेखि काम थाल्ले लिखित सम्झौता गरेका छन् । काम अघि नबढे जमानत जफत र ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिएका छौं ।”

निर्माण कम्पनीका प्रतिनिधि शिवहरि घिमिरेले बैशाख महिनाभित्र ४ किलोमिटर सडक कालोपत्र गर्ने तयारीसहित बिटुमिनलगायतका निर्माण सामग्री र उपकरण जुटाउने काम भइरहेको बताए ।

“कार्यालयले डेढ करोड बढी बिलको भुक्तानी रोकेको छ”, निर्माण कम्पनीका स्थानीय प्रतिनिधि लालबहादुर मल्लले भने, “त्यहाँको प्रतिकूल भूगोलले पनि काम गर्न अप्ठ्यारो भयो । निर्माण सामग्री चोरी भयो । गाडी घोडा लैजान दिएनन् । वातावरण नै नभएपछि काम गर्न सकिएन् ।”


Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु   

Read Next

  बाणिज्य बैंकहरूले चैतदेखि ब्याजदर घटाउँदै  

Leave a Reply

Your email address will not be published.