Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहितको मन्त्रालयको टोलीसितको भेटमा उनले विकासको विस्तार, सुधार तथा प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे। ‘विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ,’ उनले भने, ‘त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ ।’

प्रधानमन्त्री दाहालले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अङ्ग तथा तहको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने उल्लेख गरे। उनले भने, ‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ । तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका साथ अघि बढौँ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नलाई विज्ञहरू सम्मिलित कार्यदल बनाएर सम्बोधन गर्न पहल गरेकामा प्रधानमन्त्री दाहालले त्यसको सराहना गरे। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डा सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल तथा प्रा डा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजक र उपप्रधानमन्त्रीको सचिवालय टोलीले प्रधानमन्त्री दाहालसँग छलफल गरेको हो। उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवाद उन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौँ सुधार थालिएको बताए। उनले त्यसका लागि कयौँ ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औँल्याए।

त्यस क्रममा पूर्वाधार विकास प्रणाली सुधार कार्यदलका संयोजक आचार्य र यातायात सुधार कार्यदलका संयोजक पौडेलले कार्यदलले प्राथमिकतामा जोड दिन खोजेका विषयबारे प्रधानमन्त्री दाहाललाई ब्रिफिङ गरेका थिए।


Read Previous

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

Read Next

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रर्दशनी ११ फागुनदेखि भृकुटीमण्डपमा

Leave a Reply

Your email address will not be published.