Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
सेती लोकमार्ग निर्माण तीव्र पार्न जिल्ला सभाकाे माग    दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा    पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा    निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

सिमेन्ट उद्योगका लागि एलसी ‘थ्री’ प्रविधि सस्तो र वातावरणमैत्रीः विज्ञ


काठमाडौं । विश्वका विभिन्न मुलुकसहित छिमेकी भारतमा समेत उपयोगमा आइसकेको एलसी ‘थ्री’ (लाइमस्टोन क्याल्साइन्डक्ले सिमेन्ट) प्रविधि नेपालका सिमेन्ट उद्योगहरूका लागि पनि उपयोगी हुने विज्ञहरूले बताएका छन् । एलसी ‘थ्री’ प्रविधिबारे जानकारी दिन राजधानीमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले लागतका हिसाबले सस्तो र कम कार्बन उत्सर्जन हुने हुँदा नेपालका सिमेन्ट उद्योगहरूका लागि यो प्रविधि उपयुक्त हुने बताएका हुन् ।

कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी भएकी स्वीजरल्याण्डस्थित स्वीस फेडेरल इन्स्टीच्युट अफ टेक्नोलोजीकी प्राध्यापक करेन स्क्रिभेनेरले भारतमा प्रयोगमा आइसकेको एलसी थ्री प्रविधि नेपालले पनि उपयोग गरेर फाइदा लिन सक्ने बताइन् । ‘यो प्रविधिबाट सिमेन्ट उत्पादन गर्दा लागत कम आउने प्रमाणित नै भइसकेको छ,’ उनले भनिन्, ‘कार्बन उत्सर्जन पनि घटाउने हुँदा वातावरणमैत्री छ ।’ उनले स्वीजरल्याण्डबाट सुरुवात भएको यो प्रविधि अहिले विश्वका धेरै देशमा उपयोगमा आइसकेको बताइन् ।

नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुप थापाले एलसी थ्री प्रविधि नेपाली सिमेन्ट उद्योग प्रवद्र्धन गर्न सहयोगी हुने बताए । उनले यो प्रविधि नेपालमा भर्खरै जानकारीमा आएकाले नेपाली सिमेन्ट उद्योगहरूदे उपयोगमा ल्याउन सकेमा ठूलो धनराशी विदेशिनबाट जोगाउन सकिने बताए ।

‘हामीले यो प्रविधिबारे थाहा पाएपछि सम्बन्धित विज्ञहरूलाई नेपालमा पनि एउटा कार्यक्रम आयोजना गर्न आग्रह गरेका थियौं,’ उनले भने,‘स्वीजरल्याण्ड र भारतको प्रविधिक टोलीबाट जानकारी लिन पाउँदा खुशी लागेको छ ।’ उनले एलसी थ्री प्रविधिबाट सिमेन्ट उत्पादन गर्दा गुणस्तरमा कमी नहुनुका साथै उत्पादन लागत कम हुने सुन्नमा आएको हुँदा नेपालको सन्दर्भमा यो प्रविधि उपयुक्त हुन सक्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.तोयानाथ ज्ञवालीले एलसी थ्री प्रविधि फाइदाजनक भए नेपाली सिमेन्ट उद्योगहरू उपयोगमा ल्याउन उद्योगीहरूलाई सहयोग गर्ने बताए । उनले लागतका हिसाबले सस्तो तथा कम कार्बन उत्सर्जन गर्ने प्रविधि भएको हुँदा यो प्रविधि भित्र्याउन मन्त्रालयले नीतिगतरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘धेरै विकसित मुलुकमा यो प्रविधि उपयोगमा आइसकेको रहेछ । अबको चुनौती नै कार्बन उत्सर्जन घटाउनु रहेकाले नेपालमा पनि उपयुक्त हुने देखिन्छ । यो प्रविधि उपयोग गर्ने उद्योगहरूलाई मन्त्रालय सहयोग गर्न तयार छ’ उनले भने ।

भारतको दिल्ली स्थित आइआइटीका प्राध्यापक डा. शशांक विस्नोईले धेरै अध्ययन अनुसन्धानपछि सिमेन्ट उत्पादनका लागि एलसी थ्री प्रविधि उत्कृष्ट प्रमाणित भएको बताए । ‘सुरुमा अनुभव नभएकाले यो प्रविधिबाट सिमेन्ट उत्पादन गर्दा राम्रो परिणाम आएको थिएन,’ उनले भने,‘त्यसलाई परिमार्जन गर्दै लगिएकाले अहिलेसम्म आइपुग्दा सिमेन्टको गुणस्तरमा सुधार आएको छ ।’

उनले समयसँगै एलसी थ्री प्रविधिबाट उत्पादन हुने सिमेन्ट गुणस्तरीय हुँदै गएकाले यो प्रविधि उपयोग गर्ने उद्योगहरूको आत्मविश्वास पनि बढ्दै गएको बताए । एलसी थ्री प्रविधिबाट अहिले उत्पादन भइरहेको सिमेन्टको गुणस्तर अपेक्षा गरेकोभन्दा उत्कृष्ट आइरहेको विस्नोइले दाबी गरे ।

युरोपेली राष्ट्र स्वीजरल्याण्डमा सन् २००९ मा सुरुवात गरेको सिमेन्ट उत्पादन गर्ने एलसी ‘थ्री’ प्रविधिप्रति नेपाली उद्योगी व्यवसायीहरूले पनि चासो देखाएका छन् । सिमेन्ट उत्पादनमा अहिले प्रयोगमा रहेको प्रविधिभन्दा लागतका हिसाबले सस्तो र कार्बन उत्सर्जन न्युनिकरण गर्न समेत सम्भव हुने भएकाले उद्योगीहरूको चासो यो प्रविधिप्रति बढेको हो ।

एलसी ‘थ्री’ चुनढुंगा, क्याल्साइन माटो, क्लिङ्कर तथा जिप्समको मिश्रणबाट सिमेन्ट उत्पादन गर्ने नयाँ प्रविधि हो । यो प्रविधिबाट सिमेन्ट उत्पादन गर्दा ५० प्रतिशत क्लिङ्कर, ३० प्रतिशत क्याल्साइण्ड माटो, १५ प्रतिशत लाइमस्टोन तथा ५ प्रतिशत जिप्समको मिश्रण गरिन्छ ।

सर्वप्रथम सन् २००९ मा स्वीजरल्याण्डले यो प्रविधिबारे अध्ययन गरी सिमेन्ट उत्पादन गर्न सुरु गरेको थियो । अहिले विश्वका विभिन्न मुलुकसहित छिमेकी भारतमा पनि एलसी थ्री प्रविधिबाट सिमेन्ट उत्पादन हुँदै आएको छ । सिमेन्ट उत्पादन गर्न उपयोग हुने माटो खेती बालीका लागि प्रयोग हुने भन्दा फरक प्रकृतिको हुने गर्दछ ।

अध्ययन अनुसार एलसी थ्री प्रविधिबाट सिमेन्ट उत्पादन गर्दा अहिले नेपालमा उपयोगमा रहेको प्रविधिको तुलनामा कार्बन उत्सर्जन ४० प्रतिशत कम हुने गर्दछ । भारतको तारा (टेक्नोलोजी एण्ड एक्सन फर रुरल एड्भान्सन्मेन्ट), नेपाल सिमेन्ट उत्पादक संघ, आइआइटी दिल्लीलगायतको आयोजनामा एलसी थ्री प्रविधिबारे जानकारी दिन नेपालमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको थियो ।


Read Previous

‘फास्ट ट्र्याक’ मा विष्फोटक पदार्थको अभाव छैन: सेना

Read Next

सेजन र आइआइडिएस बीच आर्थिक अनुसन्धान तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने  समझदारी

Leave a Reply

Your email address will not be published.