Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

निजी क्षेत्रको विद्युत जडित क्षमता करिब १२ सय मेगावाट,बैशाख यता १७० मेगावाट प्रणालीमा थप


काठमाडौं । निजी क्षेत्रले निर्माण गरी सञ्चालन गरेका विद्युत आयोजनाको जडित क्षमता १२ सय मेगावाट नजिक पुगेको छ । निजी क्षेत्रले ३ दशकको अवधिमा जलविद्युत र सौर्य विद्युत आयोजनामा लगानी गरी यति विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा योगदान गरेको हो ।

अहिलेसम्म निजी क्षेत्रका १३८ विद्युत आयोजना (परीक्षण सहित) को ११ सय ९७ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ । विभागका अनुसार अहिले १३६ विद्युत आयोजनाले व्यापारिक उत्पादन गरिरहेका छन् ।

पछिल्लो पटक ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ । सिन्धुपाल्चोकमा निर्माण भएको यो आयोजनाले यही साताबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो ।

बैशाख यता १७० मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

२०७९ साल सुरु भए यता निजी क्षेत्रले निर्माण पूरा गरेका विद्युत आयोजनाको १७० मेगावाट विद्युत प्रसारण प्रणालीमा थपिएको छ । बैशाखदेखि कात्तिकसम्मको अवधिमा जलविद्युत र सौर्य गरी ११ विद्युत आयोजना प्रसारण प्रणालीमा जोडिएका हुन् ।

पछिल्लो पटक रामेछापस्थित २८.१ मेगावाटको तल्लो लिखु र लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजना प्रसारण प्रणालीमा जोडिएका छन् । गत असोजमा प्रसारण प्रणालीमा जोडिएका यी दुवै आयोजना अहिले परीक्षण उत्पादन गरिरहेका छन् ।

दुवै आयोजनाको परीक्षण उत्पादनको चरण पूरा हुन लागेकाले व्यापारिक विद्युत उत्पादनको प्रक्रियामा छन् । भर्खरै यसै साताबाट ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ ले व्यापारिक उत्पादन सुरु गरेको छ ।

लमजुङमै निर्माण भएको २७ मेगावाटको दोर्दी खोला र १२ मेगावाटको दोर्दी–१ आयोजना पनि यही वर्ष प्रसारण प्रणालीमा आएका छन् । विद्युत प्राधिकरणले दोर्दी कोरिडोर प्रसारण लाइन सञ्चालनमा ल्याएसँगै यी आयोजना प्रसारण प्रणालीमा जोडिएका हुन् ।

दोर्दी खोलाले गत असोज १४ गतेबाट व्यापारिक विद्युत उत्पादन गरिरहेको छ । दोर्दी–१ ले पनि असोज १७ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो ।

यस्तै, लमजुङमै निर्माण पूरा भएको ८.६३ मेगावाटको चेपे खोला आयोजना पनि प्रसारण प्रणालीमा थपिएको छ । आशुतोष इनर्जी कम्पनीले निर्माण गरिरहेको आयोजनाले गत असोज १६ गतेबाट व्यापारिक उत्पादन गरिरहेको प्राधिकरणले जनाएको छ । २ साताको परीक्षण उत्पादनपछि आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु गरिएको थियो ।

यही अवधिमा ६ मेगावाटका २ सौर्य विद्युत आयोजना प्रणालीमा जोडिएका छन् । अपि पावर कम्पनीले बारामा निर्माण गरेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजना र नेशनल सोलार पावर कम्पनीले नवलपरासीमा निर्माण गरेको ५ मेगावाटको ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेका छन् ।

यसैगरी, हिमालयन ऊर्जा कम्पनीले रामेछापमा निर्माण गरेका १९ मेगावाटका सौर्य विद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेका छन् । निर्माण पूरा भएको १ वर्षसम्म विद्युत खेर गएपछि यी आयोजना गत जेठमा प्रसारण प्रणालीमा जोडिएका हुन् ।

१२ मेगावाटको माथिल्लो खिम्तीले जेठ ४ गतेबाट र ७ मेगावाटको माथिल्लो खिम्ती–२ आयोजनाले जेठ १७ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको प्राधिकरणले जनाएको छ । यसअघि बैशाख महिनामा ६.४ मेगावाटको सुरी खोला, ३० मेगावाटको न्यादीले विद्युत उत्पादन सुरु गरेका थिए ।

प्राधिकरणका अनुसार सुरी खोलाले बैशाख १८ गते र बुटवल पावर कम्पनीको सहायक न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरेको न्यादीले बैशाख २७ गतेबाट व्यापारिक विद्युत उत्पादन गरिरहेका छन् । अहिले करिब ३३ सय मेगावाटका १३८ विद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् ।


Read Previous

व्यवस्थित शहरी विकासका लागि जग्गा एकीकरण किन आवश्यक ?

Read Next

विद्युतीय खरिद प्रणालीमा समस्या, मंगलबार अन्तिम म्याद भएका बोलपत्रको समयावधि थप

Leave a Reply

Your email address will not be published.