Nepal Purbadhar

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

छिम्केश्वरी पर्यटन मार्गमा तीन तहका सरकारको लगानी


आँबुखैरेनी गाउँपालिका–५ मा पर्ने छिम्केश्वरी पर्यटन मार्ग कालोपत्र गर्नका लागि तीन तहकै सरकारले लगानी गरेका छन् ।

गण्डकी प्रदेशको ४७ करोड, संघीय सरकारको समपुरक ६ करोड र आँबुखैरेनी गाउँपालिकाको १ करोड गरी ५४ करोड रुपैयाँ लगानी हुने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

समुद्री सतहबाट २ हजार १३४ मिटर उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल छिम्केश्वरी मन्दिर जाने मार्ग कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रेको ठेक्का शर्मा काष्ठमण्डप निर्माण सेवा पाएको छ ।

छिम्केश्वरी मन्दिर धार्मिक आस्थाको केन्द्र रहनुका साथै त्यहाँबाट देखिने प्राकृतिक दृश्य हेर्न पर्यटक आउने गरेका छन् । यहाँबाट हिमशृङ्खला, हरियाली डाँडाकाँडा तथा समथर फाँट सजिलै देख्न सकिन्छ । जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित हुँदै आएको अध्यक्ष चुमानले बताए ।

आँबुखैरेनी–३ गाउँपालिका चोकदेखि छिम्केश्वरी डाँडासम्म करिब १६ किलोमिटरमध्ये रु ५० लाखको लागतमा तीन किमी सडक स्तरोन्नती गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । २ वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो ।


Read Previous

तिब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य १ घण्टे सचेतना कक्षा लिनुपर्ने

Read Next

साझा यातायातले भित्राएका ३२ विद्युतीय बस निर्वाचनपछि सञ्चालन गरिने

Leave a Reply

Your email address will not be published.