Nepal Purbadhar

भरतपुरमा भूमिगत विद्युतीकरण ९५ प्रतिशत पूरा, ४६० ग्राहकमा जोडियो


चितवन। चितवनको भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सञ्चालन भइरहेको भूमिगत विद्युतीकरण आयोजनाको काम ९५ प्रतिशत सम्पन्न भएको छ। आयोजनाअन्तर्गत हालसम्म ४६० ग्राहकले भूमिगत प्रणालीबाट विद्युत् सेवा पाएका छन्।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार भरतपुरको बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म तथा चितवन मेडिकल कलेज अगाडिका क्षेत्रमा भूमिगत विद्युत् वितरण गरिएको छ। बाँकी ग्राहकका घरमा पनि भूमिगत लाइन जडान गर्ने काम भइरहेको उनले जानकारी दिए।

उनका अनुसार अहिले दैनिक औसत १३ ओटा मिटरमा भूमिगत विद्युत् लाइन जडान भइरहेको छ। भूमिगत विद्युतीकरणअन्तर्गत रहेका १८ ओटा फिडरमध्ये तीन ओटामा लाइन जडान गर्न बाँकी छ भने अन्य फिडरमा जडानको काम सम्पन्न भइसकेको छ।

आयोजनाअन्तर्गत भरतपुर महानगरपालिकाका एक हजार २४० ग्राहकको घरमा भूमिगत लाइन जडान गर्नुपर्नेछ। हालसम्मको प्रगतिअनुसार आयोजनाको करिब ९५ प्रतिशत काम पूरा भएको छ। बाँकी काम सम्पन्न गर्दै थप ग्राहकलाई भूमिगत प्रणालीमार्फत विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।

एक अर्ब ४० करोड लागत

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा विद्युत्का तार भूमिगत गर्न एक अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। सुरूमा आयोजनाका लागि एक अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको थियो। कामको दायरा थपिएपछि थप १० करोड रुपैयाँ बजेट व्यवस्था गरिएको हो।

एसियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले आयोजना अघि बढाएको हो। निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो। कम्पनीसँग सन् २०२१ अक्टोबरमा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरू गरिएको थियो।

सम्झौताअनुसार आयोजनाको पहिलो चरणको काम सन् २०२४ जनवरी २० मा सम्पन्न हुनुपर्ने थियो। निर्धारित समयमा काम पूरा हुन नसकेपछि पटकपटक म्याद थप गरेर निर्माणलाई निरन्तरता दिइएको हो।

सहरी क्षेत्रमा विद्युत्का तार भूमिगत गर्ने यस आयोजनाले सडकमा रहेका विद्युत् पोल तथा खुला तार व्यवस्थापन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। भूमिगत प्रणाली विस्तारसँगै सहरी विद्युत् वितरणलाई व्यवस्थित बनाउने र सडकको दृश्य स्वरूप सुधार गर्ने लक्ष्यसमेत राखिएको छ।


Read Previous

धार्चेबाहेक सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन, खोर्लाबेंसीमा आजै पुर्‍याउने प्रयास

Read Next

स्वीकृतिबिनै इन्टरनेट प्याकेज बिक्री गर्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar