
फाइल तस्बिर।
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
सोमबार सभामुख अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधिसभाअन्तर्गत फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष बियाट्रिस पिरोनले गरेको शिष्टाचार भेटमा उनले यस्तो आग्रह गरेका हुन्।
भेटमा अर्यालले सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र फ्रान्सबीच सुमधुर सम्बन्ध रहँदै आएको बताए। उनले डिजिटल संसद्को अभ्यास, सूचना प्रविधि, नवीन विधायिकी अभ्यास र संसदीय अनुभव आदानप्रदानमा फ्रान्ससँग सहकार्य गर्न सकिने धारणा राखे।
उनले दुई देशबीचको संसदीय सम्बन्ध थप सुदृढ बनाउन आठ सदस्यीय नेपाल-फ्रान्स संसदीय मैत्री समूह गठन गरिएको जानकारी पनि दिए।
भेटका क्रममा अर्यालले बाढीपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले व्यक्त गरेको समवेदना, फ्रान्सेली नागरिकको खोजी तथा उद्धारमा उपलब्ध गराइएको कन्सुलर सहयोग र युरोपेली सङ्घमार्फत प्राप्त पाँच टन मानवीय सहायताप्रति आभार व्यक्त गरे।
अध्यक्ष पिरोनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै संसदीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका क्षेत्रमा सहयोगका सम्भावना अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

