Nepal Purbadhar

नागरिकले सुरक्षित महसुस गर्ने सुशासित राज्य निर्माण आजको आवश्यकता : सभामुख


बारा । सभामुख डोलप्रसाद (डीपी) अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।

बाराको सिमरा-४, औराहास्थित नवनिर्मित कृष्ण प्रणामी मन्दिरको अवलोकन तथा स्थानीय समुदायसँगको भेटघाटका क्रममा उनले सबै नागरिकले समान अधिकार, सम्मान र सहभागिताको अवसर पाउनुपर्ने बताए ।

समाज, संविधान र कानुनले वञ्चित नगरेका विषयमा कुनै पनि नागरिकको सहभागिता र उपस्थितिमा अवरोध हुन नहुने उनको भनाइ थियो ।

सभामुख अर्यालले आफू निश्चित अवधिका लागि सभामुखको जिम्मेवारीमा रहे पनि आफ्नो सामाजिक धरातल र नागरिकसँगको सम्बन्ध कहिल्यै नबिर्सने बताए । आफू सामान्य नागरिकका रूपमा यही समाजमा हुर्किएको र भविष्यमा पनि यही समाजसँगै जोडिएर रहने उल्लेख गर्दै उनले नागरिकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गरे ।

उनले आर्थिक विकासका दृष्टिले नेपालले अझै धेरै उपलब्धि हासिल गर्न बाँकी रहे पनि धर्म, संस्कृति, सम्पदा र विविधताबीचको सामाजिक एकता मुलुकको महत्वपूर्ण पहिचान भएको बताए ।

जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीच कायम आपसी सद्भाव र सहअस्तित्व नेपालको विशिष्ट विशेषता भएको उल्लेख गर्दै उनले यसलाई विश्वसामु उदाहरणका रूपमा प्रस्तुत गर्न सकिने बताए ।

सभामुख अर्यालले नागरिकले दुःख र समस्याका बेला राज्य तथा सरकार आफ्नो साथमा रहेको अनुभूति गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सुरक्षालाई प्रभावकारी बनाउँदै संवाद, सहकार्य र समन्वयमार्फत नागरिकका गुनासा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

संघीय संसद्मा कानुन तथा नीति निर्माण गर्दा मुलुकका सबै धर्म, संस्कृति, जातजाति र भाषाको प्रतिनिधित्व हुने विषयलाई प्राथमिकता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

विज्ञ तथा सरोकारवालाका सुझाव र अनुभवलाई कानुन निर्माण प्रक्रियामा समेट्न सके भावी पुस्ताका लागि थप उपयोगी र समावेशी कानुन बनाउन सहयोग पुग्ने सभामुख अर्यालले बताए ।


Read Previous

पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Read Next

बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न यूएई सरकारलाई गृहमन्त्री गुरुङको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar