Nepal Purbadhar

पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । मौसममा आएको परिवर्तनसँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो हिमाली क्षेत्रसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । अन्य पहाडी तथा तराईका क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यसैगरी कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

रातिको समयमा हिमाली क्षेत्र तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

सम्भावित वर्षा, हिमपात, चट्याङ तथा असिनाको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरेको छ । साथै, मौसमसम्बन्धी पछिल्लो सूचना तथा पूर्वानुमान नियमित रूपमा जानकारी लिन पनि अनुरोध गरेको छ ।


Read Previous

तमोर कोरिडोरले राँके बजारको व्यापार ६० प्रतिशत घटायो

Read Next

नागरिकले सुरक्षित महसुस गर्ने सुशासित राज्य निर्माण आजको आवश्यकता : सभामुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar