Nepal Purbadhar

अप्पर तामाकोशीले बेच्यो तीन महिनामा करिब चार अर्बको बिजुली, खुद नाफा साढे एक अर्बमाथि


काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.११ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको वित्तीय आम्दानीमा आएको गिरावट र सञ्चित नोक्सानी बढ्दै गएपछि खुद नाफा प्रभावित भएको देखिन्छ।

यद्यपि, कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा भने वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको असोज मसान्तसम्ममा ३ अर्ब ९४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३.१७ प्रतिशतले बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ७१ करोड ४७ लाख ३४ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आवको सोही अवधिमा बढेर २ अर्ब ८० करोड १० लाख ५६ हजार रुपैयाँ पुगेको छ।

तर, कम्पनीको वित्तीय आम्दानीमा भने उल्लेख्य गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ लाख ७१ हजार रुपैयाँ रहेको वित्तीय आम्दानी चालु आवको सोही अवधिमा घटेर २३ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, कम्पनीको सञ्चित नोक्सानी पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म १० अर्ब ७७ करोड ९० लाख रुपैयाँ रहेको सञ्चित नोक्सानी चालु आवको सोही अवधिमा बढेर १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

खुद नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ७.९१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी चालु आवको सोही अवधिमा घटेर ७.८२ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५२.३० रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको कुल इक्विटी ११ अर्ब ७ करोड ७० लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।


Read Previous

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा ४ खर्ब लगानी गर्न यूएई सरकारलाई गृहमन्त्री गुरुङको आग्रह

Read Next

साहस ऊर्जाको नाफा २१ प्रतिशतले बढ्यो, तीन महिनामा कमायो ५९ करोड ९१ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar