Nepal Purbadhar

म्याग्दीको बैसरी-रिसिनचौतारी सडक स्तरोन्नति सुरु, ३ करोड ३५ लाख खर्च गरिँदै


म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ स्थित बैसरी-रिसिनचौतारी सडक स्तरोन्नतिको काम सुरू भएको छ। पूर्वाधार विकास कार्यालयले जैसीखोर-खहरेखोला-रिसिनचौतारी सडक योजनाअन्तर्गत उक्त सडक स्तरोन्नति अघि बढाएको हो।

३ करोड ३५ लाख ६ हजार ४८० रुपैयाँ लागतमा सडक स्तरोन्नति गर्न गत साउन ४ गते अङ्कित एन्ड जेनिशा साहना जेभीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ साउन ४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।

योजनाअन्तर्गत १ हजार ८०० मिटर सडक नालीसहित ६ मिटर चौडा बनाइनेछ। त्यसमध्ये ६१० मिटर सडक ढलान र १ हजार १९० मिटर ग्राभेल गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेश उलकले जानकारी दिए।

सडक स्तरोन्नतिका क्रममा ग्रेड तथा घुम्ती सुधार, टेवा पर्खाल र नाली निर्माणसमेत गरिनेछ। यस्तै, ९९० घनमिटर ग्याबियन पर्खाल र १ हजार ६४९ घनमिटर मेसिनरी पर्खाल निर्माण गर्ने योजना छ।

निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीका अनुसार पहिलो चरणमा १ हजार २०० मिटर सडक फराकिलो पार्ने काम सम्पन्न भइसकेको छ। कम्पनीले तीन महिनाभित्र निर्माण कार्य सक्ने लक्ष्यसहित उपकरण परिचालन गरेको छ। लक्ष्यअनुसार काम सम्पन्न गर्न थप मजदुर र निर्माण सामग्री व्यवस्थापन गरिने उनले बताए।

यो सडकले रघुगङ्गा गाउँपालिका-२ र ३ लाई कालीगण्डकी करिडोरसँग जोड्नेछ। कालीगण्डकी करिडोरको घुमाउनेताल-बैसरी खण्डको वैकल्पिक मार्गका रूपमा विकास गर्ने र स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले सडक स्तरोन्नति अघि बढाइएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए।


Read Previous

फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ आज, सहभागी हुन राष्ट्रपति मकवानपुरमा

Read Next

अरुण भ्याली हाइड्रोपावरको नाफा घट्यो, पहिलो त्रैमासमा २ करोड ९७ लाख कमाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar