Nepal Purbadhar

सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सूर्य नेपाल, बैंकतर्फ नबिल र व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित


काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने करदाता तथा संस्थालाई सम्मान गरेको छ। संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि परेको छ भने व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित भएका छन्।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले गत आर्थिक वर्ष सबैभन्दा बढी आयकर दाखिला गरेबापत सम्मान प्राप्त गरेको हो। त्यस्तै, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने संस्थाका रूपमा सम्मानित भएको छ।

आन्तरिक राजस्व विभागका अनुसार एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल सबैभन्दा बढी आयकर तिर्ने संस्था बनेको छ। वस्तुगत निर्याततर्फ डाबर नेपाल र सूचना प्रविधि सेवा निर्याततर्फ इन्फानाइट सफ्टवेयर सम्मानित भएका छन्।

कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एण्ड फिड्स प्रालि सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेको छ। स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड र पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेडले सम्मान प्राप्त गरेका छन्।

त्यसैगरी, वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि, ऊर्जा उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबारतर्फ आईएमई लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएका छन्।

वार्षिक ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि उत्कृष्ट भएको छ। त्यस्तै, ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गरेबापत सम्मान पाएको छ।

विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएका छन्।

व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा सम्मानित भएका छन्। शाह यसअघि पनि विभिन्न वर्षमा सबैभन्दा बढी व्यक्तिगत आयकर दाखिला गरेबापत सम्मानित भइसकेका छन्।

यसैगरी, आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म नियमित रूपमा मूल्य अभिवृद्धि कर विवरण तथा कर समयमा दाखिला गरेको भन्दै हिमालयन डिस्टिलरी लिमिटेडलाई सम्मान गरिएको छ।

राष्ट्रिय कर दिवस हरेक वर्ष मंसिर १ गते मनाइन्छ। यस अवसरमा सरकारले विभिन्न क्षेत्र र विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। करदातालाई प्रोत्साहन गर्नुका साथै राजस्व संकलनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाको कदर गर्ने उद्देश्यले यस्तो सम्मान प्रदान गरिन्छ।


Read Previous

सडक मर्मतमा नयाँ प्रविधि प्रयोग गर्दै एमसीए नेपाल, फूल डेप्थ रिक्लेमेसन उपकरण फिल्डमा

Read Next

सानिमा माइ हाइड्रोपावरले लगानीकर्तालाइ १० प्रतिशत बोनस सेयर दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar