Nepal Purbadhar

बाढीले पुलको पहुँचमार्ग बगाएपछि बागलुङको पर्यटन र व्यापार प्रभावित


बागलुङ। कालीगण्डकी नदीमा आएको बाढीले मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुर्‍याएपछि बागलुङको पर्यटन, व्यापार र जनजीवन प्रभावित भएको छ। मुख्य सडक अवरुद्ध हुँदा १२ दिनदेखि बागलुङ र पर्वतबीच नियमित यातायात सञ्चालन हुन सकेको छैन।

असोज ११ गतेको बाढीले पर्वततर्फको पुलको पहुँचमार्ग बगाएपछि मालढुङ्गा हुँदै म्याग्दी र मुस्ताङ जाने सडक अवरुद्ध भएको हो। दसैँको समयमा पर्यटकले भरिभराउ हुने बागलुङका होटलमा यस वर्ष अपेक्षित चहलपहल देखिएको छैन।

होटल व्यवसायीका अनुसार मुस्ताङ जाने पर्यटकको आवागमन घट्दा बागलुङको होटल व्यवसायमा प्रत्यक्ष असर परेको छ। वैकल्पिक मार्गबाट यातायात सञ्चालन भए पनि पर्यटकको संख्या न्यून रहेको व्यवसायीको भनाइ छ।

मुख्य सडक अवरुद्ध भएपछि फलेवास-बलेवा तथा मालढुङ्गा-बेनी हुँदै वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन भइरहेका छन्। लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेको छ। ग्यास विक्रेता हरि आचार्यका अनुसार वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर १५० देखि १७० रुपैयाँसम्म अतिरिक्त खर्च लाग्ने गरेको छ। ढुवानी खर्च बढेपछि बजारमा ग्यासको मूल्यसमेत १०० रुपैयाँले बढाउनुपरेको उनले बताए।

सडक अवरुद्ध हुँदा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या देखिएको छ। स्वास्थ्य उपचारका लागि पोखरा जाने सर्वसाधारणले पनि सास्ती खेप्नुपरेको छ।

यसैबीच, सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। बाढीले करिब ३० मिटर सडकमा क्षति पुर्‍याएपछि मर्मत तथा पुनःस्थापनाको काम भइरहेको कार्यालयले जनाएको छ।


Read Previous

एन्फा अध्यक्ष र महासचिवसहित ४ जनाविरुद्ध मुद्दा दर्ता

Read Next

बेनी-जोमसोम-कोरला सडक मर्मत: ट्रयाक त खुल्यो नियमित सञ्चालनमा चुनौती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar