
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता तथा नेपाल-बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा बहराइनसँगको खेल, खेल सामग्री खरिद, फिफा विश्वकपका टिकट वितरण तथा प्रायोजन रकममा अनियमितता भएको निष्कर्ष निकालिएको थियो।
अनुसन्धान प्रतिवेदनअनुसार बहराइनसँगको खेलको टिकट बिक्री राजस्वबापत प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको संस्थागत खातामा जम्मा भएको देखिएको छैन। त्यस्तै, खेल सामग्री खरिदमा बोलपत्र प्रक्रिया पालना नगरेको र पछिल्ला साढे तीन वर्षमा करिब १४ देखि १५ करोड रुपैयाँ बराबरका सामग्री खरिद तथा वितरणमा अनियमितता भएको उल्लेख छ।
मुद्दा दायर गरिएका चार जनामध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे सीआईबीको नियन्त्रणमा छन्। अध्यक्ष नेम्बाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतबाट म्याद जारी गरिदिन सरकारी वकिल कार्यालयले अनुरोध गरेको छ।

