Nepal Purbadhar

बेनी-जोमसोम-कोरला सडक मर्मत: ट्रयाक त खुल्यो नियमित सञ्चालनमा चुनौती


म्याग्दी। बाढीपहिरोले क्षतिग्रस्त बेनी-जोमसोम-कोरला सडकको मर्मत अन्तिम चरणमा पुगे पनि नियमित र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ। सडक योजनाले आइतबारसम्म मर्मत पूरा गरी सोमबारदेखि यातायात सञ्चालन गर्ने तयारी गरेको छ।

असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोले २०२ किलोमिटर लामो सडकका ५० भन्दा बढी ठाउँमा पहिरो खस्नुका साथै १० ठाउँमा कालीगण्डकी नदीको कटानले सडक बगाएको थियो। म्याग्दीको कुनौटा भिर र पोखरेबगरस्थित पुलको पहुँचमार्ग मर्मतपछि बिहीबार साँझ अत्यावश्यक सवारीसाधन सञ्चालन गरिएको छ।

बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार अहिले इन्धन, एम्बुलेन्स, विद्युत् तथा सञ्चार सेवा सञ्चालनका लागि आवश्यक उपकरण र राहत सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकताका साथ एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ। पहिरो पन्छाउने, भासिएका ठाउँमा माटो भर्ने र सडकको सतह मिलाउने काम भने बाँकी छ।

सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार बाढीपहिरोबाट सडकमा करिब ९० करोड रुपैयाँ बराबरको क्षति भएको छ। सडकलाई नयाँ डिजाइनअनुसार पुनर्निर्माण गर्न थप ३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

सडक अवरुद्ध हुँदा चीनसँगको कोरलानाकाबाट आयात भएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर गन्तव्यमा पुग्न सकेका छैनन्। मुस्ताङको स्याउ तथा आलु ढुवानी, पर्यटन र चाडपर्वको आवागमनमा समेत असर परेको छ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले अत्यावश्यक सेवा, मालवाहक सवारीसाधन, कृषि उपज ढुवानी र आन्तरिक यातायातलाई प्राथमिकता दिएर सवारी व्यवस्थापन गरिने बताए। सडकको अवस्था सहज नहुँदासम्म घुमघामका लागि आउने पर्यटकलाई यात्रा केही दिन पछि सार्नसमेत उनले अनुरोध गरेका छन्।


Read Previous

बाढीले पुलको पहुँचमार्ग बगाएपछि बागलुङको पर्यटन र व्यापार प्रभावित

Read Next

नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आजदेखि सुरू: एआई र रोजगारीमा केन्द्रित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar