
दमौली। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ ।
ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माण भइरहेको आयोजनाका तीनवटै प्याकेजअन्तर्गत काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए ।
प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम ६३ प्रतिशत सम्पन्न भएको छ । १४० मिटर अग्लो मुख्य बाँध निर्माणका लागि हालसम्म ५ लाख ७ हजार ४४२ घनमिटर कङ्क्रिट राखिएको छ ।
प्याकेज २ अन्तर्गत विद्युत्गृह, मुख्य सुरुङ तथा सम्बन्धित संरचनाको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ । मुख्य सुरुङको १ हजार ४१८.७५ मिटर कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा १ हजार ४०७.७५ मिटर सम्पन्न भएको छ ।
यस्तै, प्याकेज ३ अन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइनको काम ८२ प्रतिशत सम्पन्न भएको छ । ३३ किलोमिटर लामो प्रसारण लाइनका ९४ टावरमध्ये ८३ वटाको जग निर्माण र ८० वटा टावर खडा भइसकेका छन् ।

