Nepal Purbadhar

डिजिटल भुक्तानीको अवस्था: ७३ प्रतिशत नागरिक विद्युत् महसुल तिर्न अझै पनि काउन्टरमै पुग्छन्


काठमाडौँ। डिजिटल भुक्तानीको पहुँच विस्तार भइरहे पनि अझै करिब ७३ प्रतिशत नागरिक विद्युत् महसुल तिर्न भौतिक रूपमा काउन्टरमै पुग्ने गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले यस्तो अवस्थालाई परिवर्तन गर्न डिजिटल माध्यमबाट महसुल भुक्तानी गर्न नागरिकलाई आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका शाखामा ६५५ ओटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् । ती काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

डिजिटल माध्यमबाट महसुल भुक्तानी गर्दा नागरिकको समय तथा आवतजावत खर्च बचत हुने र नगद कारोबार घट्दा वित्तीय पारदर्शिता तथा सुरक्षा बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ । काउन्टर सञ्चालनमा प्रयोग भइरहेको स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने उनले बताए ।

मन्त्री श्रेष्ठले डिजिटल भुक्तानी गर्न नजान्ने बुबाआमा, ज्येष्ठ नागरिक तथा आफन्तलाई अनलाइनबाट विद्युत् महसुल तिर्न सिकाउन आग्रह गरेका छन् ।

‘विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने बुबाआमा, ज्येष्ठ नागरिक तथा आफन्तलाई एकपटक सिकाइदिनुहोस् । तपाईंले दिएको केही मिनेटको समयले उहाँहरूको हरेक महिनाको समय बचाउन सक्छ,’ उनले भने ।

डिजिटल भुक्तानी बढाउनु मात्र नभई नागरिकको समय बचत, सेवा सहजता, वित्तीय पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगका लागि यसलाई अभियानका रूपमा अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।


Read Previous

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

Read Next

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar