
काठमाडौं। अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण विद्युत् प्रसारण तथा वितरण संरचनामा हुन सक्ने क्षतिलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित राख्न उच्च सतर्कता अपनाएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा अवरुद्ध हुन सक्ने विद्युत् सेवा यथाशीघ्र पुनःस्थापना गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राखेको जनाएको छ। देशभरको विद्युत् आपूर्तिको अवस्था, प्रसारण तथा वितरण संरचनाको स्थिति र प्रभावित क्षेत्रबारे निरन्तर अनुगमन तथा जानकारी संकलन भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, ग्रिड सञ्चालन विभागका प्रमुख, सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख तथा दुई डिभिजन कार्यालयका प्रमुखसँग जुममार्फत छलफल गरेका छन्।
छलफलमा विभिन्न प्रदेश तथा क्षेत्रमा भइरहेको वर्षा, बाढीपहिरोबाट विद्युत् संरचनामा परेको प्रभाव, विद्युत् आपूर्तिको वर्तमान अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिइएको थियो।
प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राख्न र आवश्यकता अनुसार परिचालन गर्न प्रादेशिक तथा डिभिजन कार्यालयलाई निर्देशन दिइएको छ।
विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरमार्फत आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाउन प्राधिकरणले निर्देशन दिएको छ। साथै, क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी सुरक्षित रूपमा मर्मत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन भनिएको छ।
प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री परिचालन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।
प्राधिकरणले विद्युत् आपूर्ति प्रणालीको अवस्था केन्द्रीय तहबाट निरन्तर अनुगमन तथा समन्वय गरिरहेको जनाएको छ। उपभोक्तालाई सम्भव भएसम्म नियमित विद्युत् सेवा उपलब्ध गराउन तथा अवरुद्ध सेवा छिटोभन्दा छिटो पुनःस्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरिएको प्राधिकरणले जनाएको छ।

