
काठमाडौं। पहिरो, बाढी तथा रुख ढलेर विद्युत् संरचनामा क्षति पुगेपछि गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ र तनहुँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको हो। प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ।
मुस्ताङ र तातोपानीमा विद्युत् अवरुद्ध
२२०/१३२/३३/११ केभी दाना सबस्टेसन बन्द हुँदा तातोपानी तथा मुस्ताङ जिल्लाभर विद्युत् लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।
दाना सबस्टेसनदेखि कोबाङ ३३/११ केभी सबस्टेसन जोड्ने ३३ केभी लाइनको घासा बजारमा रुख ढलेर लाइन अवरुद्ध भएको छ। उक्त क्षेत्रमा मर्मत कार्य भइरहेको छ।

म्याग्दी जिल्लाभर आपूर्ति प्रभावित
दाना सबस्टेसनदेखि ३३/११ केभी मिलनचोक सबस्टेसनसम्मको प्रणालीमा समस्या आएपछि म्याग्दी जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ।
प्राधिकरणका अनुसार समस्या समाधानका लागि मर्मत टोली परिचालन गरी काम भइरहेको छ।
बागलुङमा बाढी र ढलेका पोलले समस्या
म्याग्दीबाट बागलुङ जोड्ने ३३ केभी लाइनको ढोडेनीमा ३३ केभीको पोल ढलेको छ। त्यस्तै, कुश्मादेखि बागलुङ जोड्ने ३३ केभी लाइनअन्तर्गत कालाखोलामा कालीगण्डकीको बाढीले पोल ढलाउँदा बागलुङ जिल्लाभर विद्युत् लाइन अवरुद्ध भएको छ।
बाढीका कारण अन्य ११ केभी लाइनमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा प्राविधिक मर्मत टोली परिचालन गरिएको छ।
पहिरोका कारण मनाङमा विद्युत् अवरुद्ध
उदीपुर-खुदी ३३ केभी लाइनमा पहिरोका कारण समस्या आएपछि उक्त लाइन हुँदै मनाङतर्फ जाने ३३ केभी लाइन सञ्चालन हुन सकेको छैन।
यसका कारण मनाङ जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ। समस्या समाधानका लागि मर्मत कार्य भइरहेको प्राधिकरणले जनाएको छ।
तनहुँको रिसिङ र हाइड्रो क्षेत्रमा आपूर्ति बन्द
दमौलीदेखि झापुतार जोड्ने ३३ केभी लाइनमा पोल ढलेपछि जरुवा सबस्टेसन सञ्चालन हुन सकेको छैन।
यसका कारण तनहुँको रिसिङ गाउँपालिका-१, २, ३ र ४ तथा तनहुँ हाइड्रोतर्फ विद्युत् आपूर्ति अवरुद्ध भएको छ। प्राधिकरणले मर्मत टोली परिचालन गरी काम अघि बढाएको जनाएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत गरी सम्भव भएसम्म छिटो विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ।

