
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभा पर्यटन क्षेत्रको विकास, व्यवसाय प्रवद्र्धन तथा व्यावसायिक हितका विषयमा केन्द्रित हुँदै सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि व्यवसायी, सरकार तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइयो । कार्यक्रममा पर्यटन क्षेत्रका चुनौती, पूर्वाधार विकास, हवाई सेवा, पर्यटक सुरक्षा, पर्यटन कानुन तथा व्यवसायिक वातावरणलगायतका विषयमा छलफल भएको थियो ।
साधारण सभालाई सम्बोधन गर्दै संघीय सरकारका सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थालाई राजनीतिक गतिविधि र स्वार्थबाट टाढा राख्न सुझाव दिए । उनले नाट्टा व्यावसायिक संस्था भएकाले आन्तरिक राजनीतिक विवादभन्दा पर्यटन क्षेत्रको विकास र व्यवसायिक हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।
“यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवद्र्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,” उनले भने ।
सभामुख अर्यालले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकले नेपालमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनका अनुसार हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटनसँग सम्बन्धित हरेक सेवामा सुरक्षा सुनिश्चित हुनु आवश्यक छ । त्यसपछि मानिसको व्यवहार, सेवा र सुविधाले पर्यटकलाई आकर्षित गर्ने उनले बताए ।
पर्यटन क्षेत्रका आवश्यक सुधारका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै अर्यालले आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा केन्द्रित हुन आग्रह गरे ।
उनले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमा पर्याप्त बहस र छलफल आवश्यक रहेको बताउँदै अर्यालले आगामी ५० वर्षलाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्ने बताए । पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई समेत आकर्षित गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको पनि उनले बताए । “नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,” उनले भने ।
विश्वका विभिन्न एयरलाइन्स कम्पनी नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै अर्यालले व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।
नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन आवश्यक रहेको उनले बताए । यसका लागि पर्यटन व्यवसायीको सहयोग र सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ ।
यस्तै, नेपाली र विदेशी पर्यटकबीच पर्यटन सेवामा विभेद गर्न नहुनेमा पनि सभामुख अर्यालले जोड दिए । होटलदेखि हवाई टिकटसम्मका सेवामा समान व्यवहार हुनुपर्ने उनको भनाइ छ ।
“होटलमा नेपाली पर्यटक आएर बसिदिऊन्, धेरै खर्च गरून् भन्ने चाहना राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उनले भने ।
सभामुख अर्यालले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई थप बलियो, व्यवस्थित र सुविधासम्पन्न बनाउनुपर्ने बताए । नाथमसम्बन्धी नयाँ कानुन निर्माणको बहस चलिरहेको सन्दर्भमा पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने गरी संस्थालाई सुदृढ बनाउनुपर्ने उनको सुझाव छ ।
भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालन तथा उपयोगका विषयमा समेत गम्भीर बहस आवश्यक रहेको उनले बताए ।
पछिल्लो निर्वाचनमा जनताले ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै अर्यालले अब सरकार असफल हुने छुट नरहेको बताए । “मुलुक समृद्ध हुनैपर्छ । सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,” उनले भने ।

