Nepal Purbadhar

मुग्लिन-मलेखु सडक तीन वर्षमा ४६ प्रतिशत मात्रै निर्माण


चितवन। पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा-मुग्लिन सडक विस्तार आयोजनाको तेस्रो प्याकेज मुग्लिन-मलेखु खण्डको निर्माणले सम्झौता भएको तीन वर्ष छ महिना बितिसक्दा पनि गति लिन सकेको छैन । हालसम्म उक्त खण्डमा ४६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

नागढुङ्गा-नौबिसे, नौबिसे-मलेखु र मलेखु-मुग्लिन गरी तीन प्याकेजमा विभाजन गरेर करिब ९५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढाइएको हो । तेस्रो प्याकेजअन्तर्गतको मलेखु-मुग्लिन खण्ड ३८.८६ किलोमिटर लामो छ ।

२०७९ पुस १५ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर सम्झौताको अवधि सकिन लाग्दासमेत निर्माण प्रगति आधाभन्दा कम छ ।

आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हालसम्म १८ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्रमा ४६ प्रतिशत निर्माण प्रगति भएको उनले जानकारी दिए ।

बर्खाको समय भएकाले अहिले निर्माणको गति केही सुस्त रहेको र वर्षा सकिएपछि कामलाई तीव्रता दिने आयोजनाले जनाएको छ । सडक खण्डमा निर्माण गर्नुपर्ने ६ ओटा पुलमध्ये ४ ओटाको काम अन्तिम चरणमा पुगेको छ भने २ ओटा पुलको स्ट्रक्चर निर्माण भइरहेको छ ।

आयोजनाका अनुसार सडक क्षेत्रमा रहेका घर, रुख तथा विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने र नक्साङ्कनमा समेत परिवर्तन गर्नुपरेका कारण निर्माणमा ढिलाइ भएको हो । केही विद्युत्का पोल अझै स्थानान्तरण हुन बाँकी छन् ।

निर्माण सामग्री समयमै उपलब्ध नहुनु तथा पछिल्लो समय बिटुमिनको अभावले पनि कालोपत्रेको काम प्रभावित भएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले कालोपत्रेका लागि आवश्यक दुई ओटा अस्फाल्ट प्लान्ट सञ्चालन गर्न नसक्दा पनि काममा ढिलाइ भएको सूचना अधिकारी मिश्रले बताए ।

“विभिन्न कारणका बाबजुत निर्माण कम्पनीले कालोपत्रेका लागि दुई ओटा अस्फाल्ट प्लान्ट सञ्चालन गर्न नसक्दा पनि ढिलाइ भएको हो,” उनले भने ।

कूल रु चार अर्ब ८० करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी शर्मा-जेडआइसिजीले ठेक्का पाएको हो । निर्माण कम्पनीले २०८२ पुस १५ भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

विश्व बैंकको सहुलियतपूर्ण ऋणमा अघि बढाइएको यो सडक राजधानी प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनका लागि महत्वपूर्ण मार्ग हो । आयोजनाका अनुसार यस सडकखण्डमा दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्छन् ।

सडक स्तरोन्नतिको काम सम्पन्न भएपछि राजधानी प्रवेश तथा बाहिरिने यात्रुले हाल भोग्दै आएको सडक जाम, धुलो, हिलो र यात्राको कठिनाइबाट राहत पाउने अपेक्षा गरिएको छ । तर निर्धारित समय नजिकिँदै गर्दा आधाभन्दा कम मात्रै काम सम्पन्न भएकाले बाँकी निर्माण समयमै सक्ने चुनौती आयोजनासामु देखिएको छ ।


Read Previous

नाट्टाको ५९औँ साधारण सभा : पर्यटन व्यवसायको विकास र व्यावसायिक हितमा केन्द्रित हुन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar