Nepal Purbadhar

अटो बीमा दाबी गर्दा समस्या हुन्छ भन्ने भाष्य गलत हो: सुनिल बल्लभ पन्त


काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भन्ने भाष्य बने पनि बीमा कम्पनीहरू त्यस्तो नभएको बताएका छन्।

बिहीबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ कार्यक्रममा बोल्दै पन्तले बीमा दाबीको आधारभूत सिद्धान्त र प्रक्रिया बुझ्न नसक्दा समस्या देखिएको बताएका हुन्।

उनले बीमा दाबीका लागि आवश्यक प्रमाण र प्रक्रिया बुझेर अघि बढे सहज रूपमा दाबी फर्छ्योट गर्न सकिने बताए। बीमा दाबीसम्बन्धी समस्याको मुख्य कारण प्रक्रियाबारे पर्याप्त बुझाइ नहुनु रहेको उनको भनाइ छ।

बीमा दाबीको निष्पक्षता र पारदर्शिता बीमा ऐनअनुसार कायम गर्नुपर्ने उल्लेख गर्दै उनले क्षतिको सही विवरणसहित त्यसलाई प्रमाणित गर्ने आवश्यक कागजात उपलब्ध गराए दाबी फर्छ्योट गर्न सहज हुने बताए।

“यो कुरा अहिले परिपक्व भइसकेको छ। बीमा प्राधिकरणले छिटो भुक्तानी दिन सकिने गरी निर्देशन दिने गरेको छ। अहिले दाबीको प्रक्रिया कहाँ पुगेको छ भन्ने कुरा ड्यासबोर्डमा राख्नुपर्ने व्यवस्था हुँदैछ,” उनले भने।

पन्तले सवारीसाधन र मोबाइल फोनबाहेक अन्य घरायसी सामानको बीमा गर्ने अभ्यास कम रहेको पनि बताए। घरायसी सामानमा जोखिम नदेखिने भएकाले त्यस्ता वस्तुको बीमा नगर्ने प्रवृत्ति रहेको उनको भनाइ छ।

उनका अनुसार विद्युतीय सवारीसाधनको हकमा ब्याट्रीको बीमा गर्दा ५० प्रतिशतसम्म मात्रै मूल्यमा ह्रास कटौती हुने व्यवस्था रहेको छ।


Read Previous

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

Read Next

नाइमा एक्स्पो: दुई पाङ्ग्रे सवारीमा ‘जेन-जी’ पुस्ता आकर्षित (तस्बीरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar