
मुस्ताङ। पर्वतको मालढुङ्गादेखि चीनसँगको कोरोला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा हालसम्म १५ ओटा पक्की पुल निर्माण सम्पन्न भएका छन्। यसैक्रममा उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका-२ स्थित घमी खोलामा ४० मिटर लामो मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ।
जोमसोम-कोरोला नाका जोड्ने सडकमा पर्ने घमी खोला पुल निर्माण सम्पन्न भएपछि बर्खायाममा खोलाको पानीको बहाव बढ्दा अवरुद्ध हुने उपल्लो मुस्ताङ तथा कोरोला नाकातर्फको आवागमन अब बाह्रै महिना सहज हुने अपेक्षा गरिएको छ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका अनुसार विसं २०७५ पुस ९ गते ठेक्का सम्झौता भएको घमी खोला पुल हालै निर्माण सम्पन्न भएको हो। कठोर भूगोल, प्रतिकूल मौसम, हिमपात तथा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणमा लामो समय लागेको हो।
सम्झौताअनुसार पुल २०७८ पुस ९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर निर्माणमा ढिलाइ भएपछि पटकपटक म्याद थप गरिएको थियो। सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार निर्माण कम्पनीलाई छ महिनाको समयावधि तोकेर दैनिक जरिवानासमेत लगाइएको आयोजनाले जनाएको छ।
सार्वजनिक खरिद ऐनको १५औँ संशोधनपछि निर्माण कार्य अघि बढाउन सहज भएको आयोजनाले बताएको छ। घमी खोला पुल निर्माणको ठेक्का सम्झौता रकम ६ करोड ८० लाख रुपैयाँ रहेको थियो। पुलका दायाँ-बायाँ पिलर फाउन्डेसन, स्ल्याब ढलान, खोलासँग पुल जोड्ने प्रोटेक्सन तथा एप्रोच सडक र फिनिसिङका काम सम्पन्न भएका छन्।
यसअघि बर्खायाममा घमी खोलामा पानीको बहाव बढ्दा कोरोला नाका तथा उपल्लो मुस्ताङतर्फ जाने सवारीसाधन र मालवाहक कन्टेनर आवतजावतमा समस्या हुने गरेको थियो। चीनबाट कोरोला नाका हुँदै आयात गरिएका सामान बोकेका कन्टेनर पुलको अभावमा हप्तौँसम्म रोकिनुपर्ने अवस्था थियो।
गत वर्ष मालवाहक कन्टेनरको आवतजावत सहज बनाउन व्यापारी तथा गाउँपालिकाको सहयोगमा डाइभर्सन सडक निर्माण गरी यातायात सञ्चालन गरिएको थियो।
थप दुई पुलका लागि बोलपत्र
उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत मालढुङ्गादेखि कोरोला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा हालसम्म १५ ओटा पक्की पुल निर्माण सम्पन्न भएका छन्।
बेनी-जोमसोम-कोरला सडक आयोजनाले गत वर्ष मुस्ताङका कैकु, सेतु खोला र लार्जुङ खोलामा पक्की पुल निर्माण सम्पन्न गरेको थियो।
चालु आर्थिक वर्षमा कोरोला नाका जोड्ने सडकलाई थप सहज बनाउन घट्टे खोला र थापा खोलामा पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।
त्यस्तै, मुस्ताङको छुसाङदेखि घमीसम्मको सडक कालोपत्र गर्न २ अर्ब रुपैयाँ लागतको बोलपत्र आह्वान गरिएको आयोजनाले जनाएको छ।
घमी खोला पुल निर्माण सम्पन्न हुनुका साथै थप पुल र सडक स्तरोन्नतिको काम अघि बढेपछि चीनसँगको व्यापारिक नाका कोरोला जोड्ने सडकको यातायात तथा व्यापारिक गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ।


