
भोजपुर/इलाम।भोजपुरको फत्तेपुर दोभानस्थित पिखुवा खोलामा मोटरेबल बेलिब्रिज निर्माण प्रक्रिया अघि बढेको छ भने वर्षाका कारण सडकमा क्षति पुगेपछि झापाको दमकदेखि पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडकमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
पूर्वी पहाडी जिल्लामा सडक तथा यातायात सहज बनाउन भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका-६ को सीमामा पर्ने फत्तेपुर दोभानस्थित पिखुवा खोलामा २ करोड ६१ लाख ४८ हजार ८३५ रुपैयाँ लागतमा मोटरेबल बेलिब्रिज निर्माण हुने भएको हो।
पूर्वाधार विकास कार्यालय भोजपुरका अनुसार पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ भने आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको छ। वर्षायाम शुरू भएसँगै खोलामा पानीको बहाव बढेकाले तत्काल निर्माण शुरू गर्न नसकिएको र वर्षात् कम हुनासाथ काम शुरू गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ।
बेलिब्रिज निर्माणको जिम्मा राउन कन्स्ट्रक्सन, उदयपुरले पाएको छ। आगामी भदौको पहिलो सातादेखि निर्माण शुरू गरी निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बेलिब्रिज निर्माण भएपछि पौवादुङमा र हतुवागढी गाउँपालिकाबीचको यातायात सम्पर्क सहज हुने अपेक्षा गरिएको छ। पुल निर्माण सम्पन्न भएपछि उक्त क्षेत्र अरुण करिडोरसँग सहज रूपमा जोडिनेछ। तिवारी भञ्ज्याङ हुँदै धरानसम्मको दूरी ८१ किलोमिटरमा सीमित हुने र यसले यातायात तथा व्यापारिक गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
दमक-चिसोपानी सडकमा मालवाहक सवारी रोक
यस्तै, झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) मा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
माङसेबुङ गाउँपालिकाका अनुसार ट्रक, टिपर, ट्रेलरलगायत भारी मालवाहक सवारीसाधनलाई अनिश्चितकालका लागि सडकमा सञ्चालन गर्न रोक लगाइएको हो।
अविरल वर्षाका कारण माङसेबुङ क्षेत्रमा सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ। क्षतिग्रस्त सडकको मर्मतसम्भार तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ।
दमक-चिसोपानी सडक निर्माण शुरू भएको तीन दशक बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन। सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यातायात तथा जनजीवन प्रभावित हुँदै आएको छ।
झापा, इलाम र पाँचथरलाई जोड्ने यो सडकबाट हजारौँ नागरिक आवतजावत गर्नुका साथै स्थानीय कृषि उत्पादन बजारसम्म पुर्याउने गरिएको छ। सडक निर्माणमा भएको ढिलाइप्रति स्थानीयवासीले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन्।
