Nepal Purbadhar

सात महिनामा सक्ने सम्झौता, दुई वर्ष पुग्दा पनि भएन कालोपत्र

सांकेतिक तस्बीर।


बागलुङ। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण बागलुङ सदरमुकामको महत्वपूर्ण सडक दुई वर्ष पुग्न लाग्दासमेत सम्पन्न हुन सकेको छैन। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको करिब दुई किलोमिटर सडक सात महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि अहिलेसम्म कालोपत्रको काम सुरू हुन सकेको छैन।

बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको दुई किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्नेगरी २०८१ फागुनमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८२ भदौ १५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो। तर, निर्धारित समय सकिएको लामो समय बितिसक्दा पनि सडकको बेस र कालोपत्र गर्ने काम बाँकी छ।

सडक डिभिजन कार्यालय बागलुङअन्तर्गत रु. ६ करोड ७२ लाख ६५ हजारमा एचसिबीजिसीएस कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। पहिलोपटक २०८३ असार मसान्तसम्म म्याद थपिए पनि उक्त अवधिमा समेत काम सम्पन्न हुन सकेन। त्यसपछि सार्वजनिक खरिदसम्बन्धी संशोधित व्यवस्थाअनुसार २०८३ असोज मसान्तसम्मका लागि थप म्याद दिइएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले बताए।

निर्माण अवधि दुई वर्ष पुग्न लाग्दा सडकको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको छ।

लामिछानेका अनुसार १२ मिटर चौडाइको दुई लेन सडकमा नाली निर्माण, टेवा पर्खाल, कल्भर्ट तथा सबबेस निर्माणको काम सम्पन्न भइसकेको छ। अब बेस निर्माण र कालोपत्रको काम मात्र बाँकी रहेको उनले बताए।

“निर्माण व्यवसायीले विभिन्न समस्या देखाउँदै काम गर्न ढिलाइ गरेकाले समयमै काम सम्पन्न हुन सकेन। अब बेस र कालोपत्रको काम मात्रै बाँकी छ,” लामिछानेले भने।

सडकलाई अस्फाल्ट कङ्क्रिट प्रविधिबाट कालोपत्र गर्ने तयारी गरिएको छ। लामिछानेका अनुसार यस प्रविधिबाट कालोपत्र गर्दा सडक लामो समयसम्म टिकाउ हुने र हरेक वर्ष मर्मत तथा खाल्डाखुल्डी पुर्ने समस्या केही हदसम्म कम हुनेछ।

बिटुमिन अभाव र मूल्यवृद्धिलाई कारण देखाउँदै निर्माण कम्पनी

निर्माण कम्पनीका प्रतिनिधि सुरेश श्रेष्ठले भने बिटुमिनको अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण कालोपत्रको काम अघि बढाउन नसकिएको बताए।

सडक संरचनासम्बन्धी अन्य सबै काम सम्पन्न भइसकेकाले थपिएको समयभित्र पर्याप्त मजदुर तथा उपकरण परिचालन गरेर कालोपत्रको काम सम्पन्न गर्ने उनको दाबी छ।

यस सडकखण्डमा सडक मापदण्डमा पर्ने घरटहरा, जग्गाजमिन तथा अन्य संरचनाका कारण लामो समयदेखि स्तरोन्नतिको काम रोकिएको थियो। लोकमार्ग विस्तार गर्दा घर तथा जग्गा क्षति हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले संघर्ष समिति गठन गरेर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

सर्वोच्च अदालतले बाङ्गेचौरदेखि उपल्लाचौर हुँदै बुर्तिबाङ चोकसम्म १५ मिटर सडक कायम हुने फैसला गरेपछि स्तरोन्नतिको काम अघि बढेको थियो।

तर, सडक स्तरोन्नतिको काममा भइरहेको ढिलाइका कारण स्थानीयवासी तथा यात्रुले अझै सास्ती खेपिरहेका छन्। सडकमा रहेका खाल्डाखुल्डी र जीर्ण अवस्थाका कारण सवारीसाधन आवागमन असहज हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।

अब थपिएको समयसीमाभित्र निर्माण कम्पनीले बाँकी काम सम्पन्न गर्छ कि फेरि म्याद थपिने हो भन्ने विषयमा स्थानीयको चासो बढेको छ।


Read Previous

केही स्थानमा भारी वर्षाको सम्भावना, वर्षाले विभिन्न राजमार्ग प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar