
काठमाडौं। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सातओटा निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोख्रेलले सार्वजनिक गरेका छन्।
बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, याङ्की उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्दै नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिएको छ।
बैठकले पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।
शिक्षा क्षेत्रतर्फ मन्त्रिपरिषद्ले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्राध्यापक डा. खड्गबहादुर केसी र सचिव पदमा प्राध्यापक डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै, सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको राहत र उपचारको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता पोख्रेलले जानकारी दिए।
