Nepal Purbadhar

भरतपुरमा भूमिगत लाइनबाट विद्युत् वितरण सुरु, तीन सय घरमा जडान

यो प्रसारण लाइनको क्षमता १३२ केभी बराबर रहनेछ भने यसमार्फत करिब ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ । सांकेतिक तस्बीर।


चितवन। नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा भूमिगत विद्युत् वितरण प्रणालीमार्फत ग्राहकका घरमा विद्युत् लाइन जडान सुरु गरेको छ। मङ्गलबारदेखि भूमिगत लाइनमा चार्जिङ सुरु भएसँगै हालसम्म करिब ३०० घरमा विद्युत् जडान गरिएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार आयोजनाको कुल भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ भने अब मुख्य रूपमा ग्राहकका घरमा लाइन जडान गर्ने काम बाँकी छ।

“अहिलेसम्म तीन सय जना ग्राहकको घरमा भूमिगत प्रक्रियाबाट लाइन जडानको काम सकिएको छ। अब घर-घरमा जडानको कामलाई तीव्रता दिएका छौँ,” सुवेदीले बताए।

भरतपुर महानगरपालिकाको छ लेन सडक र बाइपास सडकअन्तर्गत करिब २० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली विस्तार गरिएको छ। यसमार्फत करिब एक हजार ३०० ग्राहकलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

हाल केन्द्रीय बस टर्मिनलदेखि नहरचोकसम्मको दाहिने क्षेत्र, गणेशस्थान, चितवन मेडिकल कलेजदेखि चौबीसकोठीसम्मका घरमा भूमिगत प्रणालीबाट विद्युत् वितरण सुरु गरिएको आयोजनाले जनाएको छ।

त्यसैगरी आँपटारीदेखि केन्द्रीय बस टर्मिनल, केन्द्रीय बस टर्मिनलदेखि पुलचोक, आँपटारीदेखि पोखरा बसपार्क तथा भरतपुर सबस्टेशनदेखि भाटभटेनी नजिकको नहरसम्म विद्युतीय तार भूमिगत गर्ने काम सम्पन्न भइसकेको छ।

आयोजनाका अनुसार अहिले प्रणालीको परीक्षण भइरहेको छ। परीक्षणका क्रममा बिजुली प्रवाह नगरी लाइन चार्ज गर्ने काम भइरहेको छ भने बुधबार औद्योगिक फिडरमा पनि चार्जिङ गरिने तयारी छ।

सुवेदीका अनुसार बाइपास सडकको दुवैतर्फ करिब ९ किलोमिटर क्षेत्रमा ३३ केभी लाइन, केन्द्रीय बस टर्मिनलदेखि पुलचोकसम्म ८ किलोमिटर क्षेत्रमा ३३ केभी लाइन, आँपटारीदेखि पोखरा बसपार्कसम्म १.५ किलोमिटर ११ केभी लाइन तथा केन्द्रीय बस टर्मिनलदेखि मिलनचोकसम्म १.५ किलोमिटर ३३ केभी लाइन भूमिगत रूपमा विस्तार गरिएको छ।

“विद्युतीकरणका लागि आवश्यक अधिकांश काम सकिएको छ। मौसमका कारण केही काम प्रभावित भए पनि असोजभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ,” सुवेदीले बताए।

उनका अनुसार परीक्षणका क्रममा केही स्थानमा सामान्य प्राविधिक समस्या देखिए पनि त्यसको समाधान भइरहेको छ।

आयोजनाको निर्माण ठेकेदार भारतको टाटा प्रोजेक्ट्ससँग सन् २०२२ जनवरी २० मा सम्झौता भएको थियो। सन् २०२४ जनवरी १९ भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण अवधि तीन पटक थप भइसकेको छ। चौथोपटक म्याद थपका लागि ठेकेदार कम्पनीले अनुरोध गरेको भए पनि त्यसबारे निर्णय हुन बाँकी रहेको आयोजनाले जनाएको छ।

भरतपुरमा भूमिगत विद्युत् प्रणाली विस्तारका लागि मात्रै करिब रु १ अर्ब ४० करोड बजेट विनियोजन गरिएको छ। पछि आयोजनाको दायरा विस्तार गर्दै आँपटारीदेखि पोखरा बसपार्क र भरतपुर सबस्टेशनदेखि भाटभटेनी नजिकको नहरसम्मको क्षेत्रसमेत समावेश गरिएको थियो।

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालन भइरहेको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजनाको कुल लागत करिब रु ३ अर्ब रहेको आयोजनाले जनाएको छ।


Read Previous

सिरहामा पनि ग्यास अभाव, खाली सिलिन्डर बोकेर घण्टौँ लाइनमा उपभोक्ता

Read Next

इन्टरनेट सेवा प्रदायकको बक्यौता विवाद, कानुनअनुसार शुल्क जसरी पनि असुल गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar