
सिरहा। सिरहाका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता एलपी ग्यासको अभाव देखिएको छ। ग्यास सहज रूपमा उपलब्ध हुन छाडेपछि उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलरकहाँ घण्टौँ लाइनमा बस्न बाध्य भएका छन्।

गोलबजार, लहानलगायतका क्षेत्रमा ग्यासको आपूर्ति अनियमित भएपछि दैनिक उपभोगका लागि ग्यास लिन उपभोक्ताले लामो समय कुर्नुपरेको स्थानीयले बताएका छन्।
गोलबजार नगरपालिका–४, लहान नगरपालिका–३ को रघुनाथपुर चोक तथा सडक डिभिजन कार्यालय अगाडि रहेका ग्यास डिलरका पसलमा बिहानैदेखि उपभोक्ताको भीड लागेको देखिएको छ। ग्यास आउने निश्चित समय नहुँदा धेरै उपभोक्ता सिलिन्डर बोकेर पालो कुर्दै बसिरहेका छन्।

स्थानीयका अनुसार पछिल्ला केही दिनदेखि ग्यासको आपूर्ति पर्याप्त हुन नसक्दा घरायसी उपभोग प्रभावित भएको छ। विशेष गरी बिहानैदेखि लाइनमा बसेपछि मात्र ग्यास पाउने अवस्था रहेको उनीहरूको भनाइ छ।

सिरहामा देखिएको ग्यास अभावको कारणबारे सम्बन्धित निकायले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

तस्बिर: नेपाल फोटो लाइब्रेरी
