
काठमाडौं। विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसन सुरू गरेका छन्।
गत आइतबार ‘राजधानी मार्च’ गर्दै सरकारको ध्यानाकर्षण गराएका लघुवित्त पीडितहरू मंगलबार बिहानदेखि आमरण अनसनमा बसेका हुन्। सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाएका छन्।
अनसनरत पीडितहरूले लघुवित्तसम्बन्धी विगतमा गठित अध्ययन तथा छानबिन समितिका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न माग गरेका छन्। साथै, लघुवित्त संस्था, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने उनीहरूको प्रमुख माग छ।
उनीहरूले चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना तथा अतिरिक्त शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन्। त्यसैगरी, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीका विषयमा न्यायिक निरुपणको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ।
लघुवित्त पीडितहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनीहरूले सरकारसँग वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्दै वित्तीय क्षेत्रमा देखिएका विकृतिको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्।
