
काठमाडौं। नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आह्वान गरेको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रभावित भएका छन्।
संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो। चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति, दोषीमाथि कानुनी कारबाही तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलन गरिएको संघले जनाएको छ।
आन्दोलनका कारण नियमित उपचार, ओपीडी, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवाका लागि अस्पताल पुगेका बिरामी र सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
काठमाडौंका नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा रहे पनि अन्य सेवा बन्द हुँदा सेवाग्राहीको भीड बढेको देखिएको छ। नियमित उपचारका लागि पुगेका धेरै बिरामी सेवा नपाई फर्किन बाध्य भएका छन् भने आकस्मिक कक्षमा समेत बिरामीको चाप बढेको छ।
नेपाल चिकित्सक संघले आफ्ना मागको सम्बोधन नभएसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गर्न सकिने चेतावनी दिएको छ।
उता, सरकारले नारायणी अस्पतालमा भएको घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ। चिकित्सकमाथिको आक्रमणको घटनापछि चिकित्सा क्षेत्रको सुरक्षा र कार्य वातावरणलाई लिएर बहस समेत तीव्र बनेको छ।
