Nepal Purbadhar

खोटाङका दुई सडकको कालोपत्र ढिलासुस्तीले अलपत्र, वर्षाले थप बढायो समस्या


असार १५ भित्र काम सक्ने सम्झौता भए पनि प्रगति २० प्रतिशतभन्दा कम, निर्माण सामग्री छाडेर ठेकेदार निर्माणस्थलबाट बाहिरियो

काठमाडौं। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण खोटाङका दुई महत्त्वपूर्ण ग्रामीण सडकको कालोपत्र योजना अधुरै रहने भएको छ। कोशी प्रदेश सरकारको बजेटमा सञ्चालन भएका दिक्तेल‍-हलेसी सडकअन्तर्गतका दुई सडकमा अस्फाल्ट कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेर रोकिएको हो।

अधुरो बनेका योजनामध्ये एउटा नुनथला-जौबारी-कुभिन्डे-हरमटार हुँदै ऐँसेलुखर्क बजार जोड्ने सडक हो भने अर्को हुर्लुङ‍-जालपा-सप्तेश्वर‍-बाक्सिला सडक हो। दुवै सडकको कालोपत्र कार्य असार १५ भित्र सम्पन्न गर्ने गरी बिसी-पिसी-पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङसँग ठेक्का सम्झौता गरेको थियो।

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार निर्माण व्यवसायीले कालोपत्रका लागि आवश्यक तयारी गरे पनि समय व्यवस्थापनमा कमजोरी र वर्षायाम सुरु भएपछि काम अघि बढ्न सकेन।

नुनथला-जौबारी-कुभिन्डे-हरमटार सडकको २ हजार २०० मिटर खण्ड कालोपत्र गर्न दुई करोड ३८ लाख ३८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। त्यस्तै, हुर्लुङ‍-जालपा-सप्तेश्वर‍-बाक्सिला सडकको २ हजार ५०० मिटर खण्ड कालोपत्र गर्न दुई करोड ५३ लाख ५४ हजार रुपैयाँमा सम्झौता भएको थियो।

कार्यालयका अनुसार हालसम्म नुनथला-जौबारी-कुभिन्डे-हरमटार सडकमा १८ प्रतिशत र हुर्लुङ‍-जालपा-सप्तेश्वर‍-बाक्सिला सडकमा १३ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।

दुवै सडकमा ड्रेन, रिटेनिङ वाल, ग्याविन जाली, सबबेस तथा कजवे ढलानलगायतका संरचनात्मक काम सम्पन्न भए पनि बेस तयार भइसकेपछि गर्नुपर्ने अस्फाल्ट कालोपत्रको काम भने रोकिएको छ। कार्यालयका अनुसार नियमित वर्षाका कारण अहिले कालोपत्र गर्न सम्भव छैन भने निर्माण व्यवसायीले समयमै बिटुमिन खरिद नगर्दा पनि काम प्रभावित भएको हो।

हुर्लुङका स्थानीय महन गुरुङले कालोपत्र गर्ने चरणमा पुगेको सडक अधुरै छाड्दा राज्यको लगानी जोखिममा परेको बताए। उनका अनुसार निर्माण सामग्रीसमेत सडकमै छाडेर ठेकेदार हिँडेकाले स्थानीय र यातायात व्यवसायी दुवै समस्यामा परेका छन्।

भौतिक पूर्वाधार विकास कार्यालयले ठेक्काको म्याद थप भए करिब एक महिनाभित्र कालोपत्रको काम सम्पन्न गर्न सकिने जनाएको छ। तर, लामो समयसम्म विभिन्न बहाना बनाउँदै काम सुरु नगरेको निर्माण कम्पनीले अन्तिम समयमा मात्रै निर्माण थालेपछि वर्षायाम सुरु भएसँगै काम रोकिएको स्थानीयको गुनासो छ।

खोटाङमा मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक अझै कालोपत्र हुन सकेका छैनन्। त्यसैले यी दुई सडक समयमै सम्पन्न हुने अपेक्षा गरेका स्थानीय अहिले निर्माण व्यवसायीको ढिलासुस्तीप्रति आक्रोशित बनेका छन्।


Read Previous

पूर्वाधार विकासमा व्यासको जोड, सडकदेखि स्मार्ट लाइट र सिँचाइसम्मका योजना अघि बढाइने

Read Next

गाउँदेखि शहरसम्म विश्वकप फुटबलको माहोल, आफ्नै रंगशालाको अवस्था दयनीय- (तस्बीरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar