Nepal Purbadhar

पूर्वाधार विकासमा व्यासको जोड, सडकदेखि स्मार्ट लाइट र सिँचाइसम्मका योजना अघि बढाइने


सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ र नदी नियन्त्रणलाई उच्च प्राथमिकता

काठमाडौं। तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ विस्तार तथा नदी नियन्त्रणका विभिन्न योजना अघि बढाउने भएको छ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार नगरभित्रका सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउने लक्ष्यका साथ आवश्यक सडकको स्तरोन्नति गरिनेछ। दीर्घकालीन योजना, आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा एकीकृत सहरी विकास कार्यक्रमअनुसार नगरको सन्तुलित विकासलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिने उनले बताए।

दमौलीसहितका सहरी क्षेत्रमा वर्षायाममा हुने डुबान र ढल निकासको समस्या समाधान गर्न फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ।

नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा सहरी वडामा स्मार्ट सडक बत्ती जडान गरिने तथा ग्रामीण वडाका सबै गाउँमा विद्युतीकरण विस्तार गरिनेछ। ‘उज्यालो नगरपालिका’ अभियानमार्फत सडक बत्ती व्यवस्थापनलाई पनि थप प्रभावकारी बनाइने योजना छ।

कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि व्यास–१० दुम्सीचौरस्थित निर्माणाधीन नारेश्वर तालबाट पानी लिफ्ट गरी दुम्सीचौर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले विकास योजना छनोटमा सहभागितामूलक प्रक्रियालाई निरन्तरता दिने जनाएको छ। प्रत्येक वडा, बस्ती तथा टोल विकास संस्थाको परामर्श र सहभागितामा योजना छनोट गरिने नीति लिइएको छ।

उपभोक्ता समितिमार्फत सञ्चालन हुने १० लाख रुपैयाँभन्दा कम लागतका योजनामा आगामी आर्थिक वर्षदेखि तीन प्रतिशत मात्रै कन्टिन्जेन्सी कट्टा गरिने नगरप्रमुख न्यौपानेले जानकारी दिए। यसबाट साना विकास योजनाको प्रभावकारिता बढ्नुका साथै मर्मतसम्भारका लागि स्रोत व्यवस्थापनमा सहयोग पुग्ने विश्वास नगरपालिकाको छ।

सहरी क्षेत्रका चोक, सडकपेटी तथा जीर्ण सडकको स्तरोन्नतिका लागि सडक बोर्ड नेपालसँग सहकार्य गरिनेछ। साथै नगरभित्रका सडकको वर्गीकरण गरी सडक किनारमा वृक्षरोपण अभियान सञ्चालन गरेर हरियाली प्रवर्द्धन गर्ने योजना पनि अघि सारिएको छ।

नगरप्रमुख न्यौपानेले सेती र मादी नदी उपत्यकामा रहेको व्यास मार्ग तथा बुद्धसिं मार्गलाई यस क्षेत्रको ‘जीवनरेखा’का रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। तनहुँ, लमजुङ र कास्की हुँदै गण्डकी तथा बागमती प्रदेश जोड्ने उक्त सडकलाई ‘व्यास–बुद्धसिं मार्ग’का रूपमा विकास गर्न सङ्घीय सरकारसँग समन्वय गरी निर्माण तथा विस्तारका कामलाई पूर्णता दिने पहल गरिने उनले बताए।


Read Previous

बर्खामा हिलोको सास्ती अन्त्य, कालोपत्रपछि दोर्दीको यात्रा सहज

Read Next

खोटाङका दुई सडकको कालोपत्र ढिलासुस्तीले अलपत्र, वर्षाले थप बढायो समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar