
गाउँदेखि शहरसम्म फुटबलको उत्साह, तर नेपालको प्रमुख अन्तर्राष्ट्रिय रंगशालामा लामो घाँस, खिया लागेका संरचना र सरसफाइको अभाव
काठमाडौं। विश्वभर फुटबल विश्वकपको माहोल तातेका बेला नेपालका गाउँदेखि शहर र टोलटोलसम्म पनि फुटबलप्रेमीहरू खेल र छलफलमा रमाइरहेका छन्। तर, देशको प्रमुख अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला भने नियमित मर्मत-सम्भार र संरक्षणको अभावमा जीर्ण बन्दै गएको देखिएको छ।

रंगशालाको मैदानमा लामो घाँस उम्रिएको छ भने दर्शक बस्ने कुर्सी, गोलपोस्टलगायतका संरचनामा खिया लाग्न थालेको छ। नियमित सरसफाइ, घाँस व्यवस्थापन र आवश्यक मर्मत नहुँदा नेपाली फुटबलको प्रमुख केन्द्रको स्वरूप नै बिग्रँदै गएको देखिन्छ।
गत असार ११ गते अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बनमा परेपछि तय भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हालका लागि स्थगित भएका छन्। यद्यपि, रंगशालाको दैनिक व्यवस्थापन, संरक्षण र मर्मत-सम्भार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जिम्मेवारी भएकाले प्रतियोगिता नहुँदैमा पूर्वाधारलाई बेवास्ता गर्न नहुने खेलप्रेमीहरूको भनाइ छ।

दशरथ रंगशालामा पछिल्लोपटक सन् २०२५ फेब्रुअरी २६ मा सम्पन्न चार राष्ट्र सहभागी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। त्यसयता रंगशालामा कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन सकेको छैन।
विश्वभर फुटबलप्रतिको उत्साह चरममा पुगेका बेला नेपालको प्रमुख अन्तर्राष्ट्रिय रंगशालाको अवस्था भने चिन्ताको विषय बनेको छ। खेल पूर्वाधारको दीर्घकालीन संरक्षणका लागि नियमित मर्मत, घाँस व्यवस्थापन, सरसफाइ तथा आवश्यक संरचनाको संरक्षणमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

