
राजदुवाली खण्डमा सडक थप भासिएपछि सबै प्रकारका सवारीसाधन सञ्चालन बन्द, वैकल्पिक मार्गसमेत बाढीले अवरुद्ध
काठमाडौं। लगातारको वर्षापछि इलामको मेची राजमार्गअन्तर्गत गोलाखर्क-राजदुवाली सडकखण्ड भासिँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक थप जोखिमपूर्ण बनेपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन अनिश्चितकालका लागि बन्द गरिएको प्रशासनले जनाएको छ।
इलाम नगरपालिका-९ स्थित राजदुवाली क्षेत्रमा सडक निरन्तर भासिएपछि यातायात रोक्नुपरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। उनका अनुसार विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबारसम्म मोटरसाइकललाई आवतजावत गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
सडक बन्द भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क विच्छेद भएको छ। इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट ती जिल्लातर्फ आएका सयौँ मालवाहक ट्रक र अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन्।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जोखिमयुक्त सडक प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ। लगातारको वर्षाले सडक भासिने र पहिरो झर्ने क्रम बढेकाले तत्काल सडक सञ्चालनको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।
यसअघि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी-सिमलगोला सडक पनि जोगमाई खोलाको डाइभर्सन बाढीले बगाएपछि बन्द भएको छ। त्यस्तै, इलाम-झापा जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्घा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएकाले पूर्वका तीन पहाडी जिल्ला झापासँग सडकमार्फत जोडिने सबै प्रमुख मार्ग प्रभावित भएका छन्।
सडक डिभिजन इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि आवश्यक सिभिल संरचना डेढ महिनाअघि नै तयार भए पनि भारत सरकारले उपलब्ध गराउने बेलीब्रिजका सामग्री हालसम्म नआएकाले पुल निर्माणको काम अघि बढ्न सकेको छैन।
मुख्य र वैकल्पिक दुवै सडक बन्द भएपछि अत्यावश्यक काममा हिँडेका यात्रु पहिरो प्रभावित राजदुवाली सडकखण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन्। प्रशासनले मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न र अत्यावश्यक अवस्थामा मात्र सुरक्षित विकल्प अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
