Nepal Purbadhar

बर्खामा हिलोको सास्ती अन्त्य, कालोपत्रपछि दोर्दीको यात्रा सहज


२६ करोडभन्दा बढी लागतमा बनेको ७.१ किमि सडक सञ्चालनमा आएपछि आवतजावत, कृषि ढुवानी र सेवा पहुँचमा सहज

काठमाडौं। वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण वर्षौंदेखि सास्ती खेप्दै आएका लमजुङको दोर्दी गाउँपालिकाका बासिन्दाले यस वर्ष सहज सडक यात्राको अनुभव गरिरहेका छन्। उदिपुर‍-रिठ्ठेबगर‍-नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र सम्पन्न भएपछि बर्खायाममा समेत सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुन थालेका छन्।

गण्डकी प्रदेश सरकारको ‘एक पालिका, एक सडक’ अभियानअन्तर्गत निर्माण गरिएको ७.१ किलोमिटर सडक सञ्चालनमा आएपछि बेँसीसहर र दोर्दी गाउँपालिकाबीचको यात्रा छोटो, सुरक्षित र सहज बनेको छ।

यसअघि वर्षायाममा सडक हिलाम्मे हुँदा सवारीसाधन चिप्लिने, हिलोमा फस्ने र यात्रुले घण्टौँ सास्ती बेहोर्नुपर्ने अवस्था थियो। हिउँदमा उड्ने धुलोले सडक आसपासका बस्ती र यात्रुलाई समेत समस्या हुने गरेको थियो। अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएपछि ती समस्या हटेका छन्।

सडक स्तरोन्नति भएपछि यात्राको समय उल्लेख्य रूपमा घटेको छ। पहिले एकतर्फी यात्रामै लाग्ने समय अहिले आउजाउ गरेर काम सक्न पर्याप्त हुने भएको छ। सडक सहज बनेपछि कृषि उपज बजारसम्म पुर्‍याउन, आवश्यक सामग्री ढुवानी गर्न तथा सदरमुकामसँगको सम्पर्क विस्तार गर्न पनि स्थानीयलाई सहज भएको छ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार गत मङ्सिरको अन्तिमतिर कालोपत्र सम्पन्न भएको उक्त सडक गण्डकी प्रदेश सरकारको करिब २६ करोड २९ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हो। सडक निर्माणको ठेक्का कन्टेक निर्माण प्रालि, काठमाडौंले पाएको थियो।

वि.सं. २०७७ असार ३ गते निर्माण सम्झौता भए पनि कोभिड‍-१९ लगायतका कारण परियोजना निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन। त्यसपछि पटक‍-पटक म्याद थपिएपछि सडक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो।

सडकमा अस्फाल्ट कालोपत्रसँगै आवश्यक स्थानमा ढलान, नाला तथा अन्य सहायक संरचना पनि निर्माण गरिएको छ। सडक सञ्चालनमा आएपछि दोर्दी गाउँपालिकाका बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच सहज भएको छ। सदरमुकामसँगको सम्पर्क सुधारिएसँगै स्थानीय आर्थिक र सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ।


Read Previous

राजमार्ग भासियो, सडक अनिश्चितकालका लागि बन्द, पैदल यात्रीलाई समेत रोक

Read Next

पूर्वाधार विकासमा व्यासको जोड, सडकदेखि स्मार्ट लाइट र सिँचाइसम्मका योजना अघि बढाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar