
फाइल तस्बीर।
मैलुङ सडक जोखिममा, केरुङ आवतजावतका लागि पुरानो मार्ग प्रयोग गर्न प्रशासनको आग्रह
काठमाडौं। लगातारको वर्षापछि भोटेकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक ट्रक तथा नयाँ आयातित सवारीसाधन सुरक्षित स्थानमा सारिएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै यार्ड खाली गराइएको हो।
जानकारीअनुसार, भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम बढेपछि सवारीसाधन सुरक्षित स्थानमा सारिएको हो। यार्डको दीर्घकालीन सुरक्षाका लागि तटबन्ध निर्माण गर्न र सुरक्षा संरचना थप मजबुत बनाउन नेपाल इन्टरमोडल यातायात विकास समितिसँग चालकहरूले माग गरेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास अनावश्यक रूपमा नजान तथा नदी किनारमा सवारीसाधन नराख्न स्थानीयवासीलाई आग्रह गरेका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आइतबार साँझ आएको हल्का बाढीले मैलुङ सडकबाहेक अन्य क्षेत्रमा उल्लेखनीय क्षति पुर्याएको छैन। तर, मैलुङ सडकखण्ड जोखिममा रहेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने पुरानो सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले यात्रु तथा चालकलाई जोखिमयुक्त सडक प्रयोग नगर्न आग्रह गरेका छन्। उनले निरन्तर वर्षाका कारण नदी तथा खोल्सामा पानीको बहाव बढिरहेकाले नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न तथा यात्रा गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।
प्रशासनले कुनै पनि विपद्को अवस्था देखिएमा आपत्कालीन निःशुल्क नम्बर १२३४ मा तत्काल जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग गर्न पनि अपिल गरेको छ।
