
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै काठमाडौं उपत्यकामा बजार अनुगमनलाई तीव्र बनाएको छ।
मन्त्री निशा मेहेताको निर्देशनमा मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असार १४ गते घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरी होटल, बजार र डेरी उद्योगमा व्यापक अनुगमन गरेको हो।
अनुगमनका क्रममा होटल तथा रेष्टुरेन्ट निरीक्षण टोलीले काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा खाद्य प्रयोजनका लागि प्रयोग गर्न नमिल्ने कस्मेटिक ग्रेडको रोज वाटर फेला पारेपछि त्यसलाई तत्काल नष्ट गरेको विभागले जनाएको छ। साथै सम्बन्धित व्यवसायीलाई आवश्यक कागजातसहित पाँच दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
त्यसैगरी दोस्रो टोलीले कालिमाटी फलफूल तथा तरकारी बजारबाट विभिन्न फलफूल तथा तरकारीका नमुना संकलन गरी विषादी अवशेष परीक्षण गरेको थियो। परीक्षण गरिएका २२ वटा ताजा फलफूल तथा तरकारीको नमुना खाद्य मापदण्डअनुसार सुरक्षित रहेको विभागले जनाएको छ।
यस्तै, तेस्रो टोलीले भक्तपुरस्थित दुई डेरी उद्योगमा अनुगमन गरी उत्पादन प्रक्रिया, सरसफाइ र गुणस्तर व्यवस्थापनमा आवश्यक सुधार गर्न निर्देशन दिएको छ।
मन्त्री मेहेताले जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने खाद्य तथा उपभोग्य वस्तुको गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पार्दै उपभोक्ताको स्वास्थ्यमा जोखिम सिर्जना गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएकी छन्।
उनले सुरक्षित, स्वच्छ र गुणस्तरीय बजार सुनिश्चित गर्न मन्त्रालयको अनुगमन तथा नियमन अभियानलाई अझ प्रभावकारी र निरन्तर रूपमा सञ्चालन गरिने पनि बताइन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनसम्बन्धी विस्तृत विवरण प्रतिवेदनमार्फत सार्वजनिक गर्ने जनाएको छ।


