Nepal Purbadhar

धितोपत्र बोर्डका अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन- ‘लगानीकर्ताको हितमा काम गर्नू’


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पुँजी बजारका लगानीकर्ताको हित र लगानीको सुरक्षा सुनिश्चित गर्दै इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

शपथपछि अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य प्रभावबाट टाढा रही निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। उनले पुँजी बजारमा लगानीकर्ताको विश्वास कायम गर्दै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण निर्माण गर्न विशेष ध्यान दिनुपर्ने बताए।

‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्। म साथमा छु, सरकारले आवश्यक सबै सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने।

उनले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको र एक वर्षको स्पष्ट कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न पनि निर्देशन दिए।

बजारमा फैलाइने अनावश्यक हल्लाले विशेषगरी साना लगानीकर्तामा त्रास सिर्जना गर्ने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गरी बजारमा विश्वासको वातावरण निर्माण गर्न अध्यक्ष भट्टलाई आग्रह गरे।

अर्थमन्त्री वाग्लेले धेरै बोल्नेभन्दा कामबाट परिणाम देखाउनुपर्नेमा जोड दिँदै नियामक निकायको भूमिका प्रभावकारी बनाउन समयसीमा तोकेर सुधारका योजना कार्यान्वयन गर्न निर्देशन दिए।

‘पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस्। बजारमा विश्वास बढाउँदै नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्। मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन। धेरै बोलेर होइन, नतिजामुखी काम गर्नुहोस्। मलाई हरेक हप्ता बजारको प्रगतिबारे जानकारी चाहिन्छ,’ उनले भने।

कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र अर्थमन्त्रीको निर्देशनअनुसार पुँजी बजारको विकास तथा लगानीकर्ताको हित संरक्षणका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आफ्नो ज्ञान, अनुभव र सीपलाई पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षण तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पूर्ण रूपमा उपयोग गर्ने बताए। साथै, पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन तथा सिफारिसलाई कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने दिशामा निरन्तर काम गर्ने प्रतिबद्धता पनि जनाए।


Read Previous

जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार, कर्णालीको पूर्वाधारदेखि अर्थतन्त्रसम्म प्रभाव

Read Next

रोज वाटर नष्ट, होटल, डेरी र तरकारी बजारमा निगरानी, बजार अनुगमनलाई थप प्रभावकारी बनाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar