
नयाँ बसपार्क गौंगबु।
काठमाडौं। कुनै समय अव्यवस्थित टहरा, फोहर, दुर्गन्ध र यात्रुको भीडभाडका कारण आलोचित हुने काठमाडौंको नयाँ बसपार्क अहिले क्रमशः आधुनिक र व्यवस्थित सार्वजनिक यातायात केन्द्रका रूपमा रूपान्तरण हुँदै गएको छ। काठमाडौं महानगरपालिका-२६, विष्णुमती नदी किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कमा पछिल्ला वर्षहरूमा सरसफाइ, पूर्वाधार र सेवा व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको छ।
काठमाडौं महानगरपालिकाको पहल र जापान अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका) को प्राविधिक सहयोगमा निर्माण भएको बसपार्क अहिले सफा, व्यवस्थित र यात्रुमैत्री बनेको छ। विगतमा देखिने फोहरका थुप्रा, दुर्गन्ध, अव्यवस्थित टहरा र फुटपाथमा सञ्चालन हुने अस्थायी व्यापार अहिले हटिसकेका छन्। बसपार्कभित्र दैनिक सरसफाइ हुने, सवारी साधन व्यवस्थित रूपमा पार्किङ गरिने तथा ट्राफिक व्यवस्थापन प्रभावकारी भएकाले चाप बढे पनि अव्यवस्था कम भएको देखिन्छ।
लामो दूरीका यात्रुले टिकट खरिद गर्दा सामना गर्नुपर्ने बिचौलियाको समस्या पनि अहिले धेरै हदसम्म नियन्त्रणमा आएको छ। टिकट काउन्टरहरू व्यवस्थित गरिएका छन् भने यात्रु सेवा थप सहज बनाउन विभिन्न सुधार लागू गरिएको छ।
८०० सवारी अट्ने क्षमता
काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क २०५६ सालमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमार्फत सञ्चालनमा आएको थियो। सुरुमा ४५० सवारी साधन पार्किङ गर्न सक्ने क्षमता रहेको बसपार्कलाई २०७२ सालमा स्तरोन्नति गरी ८०० सवारी साधन अट्ने बनाइएको हो।
२०७१ सालदेखि इन्जिनियर दीपक कुँवरको नेतृत्वमा बसपार्क व्यवस्थापनको जिम्मेवारी सम्हालिएपछि यहाँ व्यापक सुधारका काम भएका छन्। अव्यवस्थित टहरा हटाएर आधुनिक पूर्वाधार निर्माण गरिएको छ। अहिले बसपार्कमा व्यवस्थित टिकट काउन्टर, पेट्रोल पम्प, सुविधासम्पन्न ल्होत्से मल, खाजाघर, अपाङ्गमैत्री शौचालय, हरियाली क्षेत्र तथा निःशुल्क इन्टरनेट सेवाको व्यवस्था गरिएको छ।
सुरक्षा व्यवस्थालाई पनि सुदृढ बनाइएको छ। बसपार्कभित्र प्रहरी प्रभाग र ट्राफिक प्रहरीको नियमित उपस्थिति रहेको छ भने सामुदायिक प्रहरीको समेत सक्रियता बढाइएको छ।
चुनौतीबीच सुधारको यात्रा
ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले व्यवस्थापन सम्हालेको एक दशकमा भूकम्प, नाकाबन्दी र कोरोना महामारीजस्ता कठिन परिस्थितिको सामना गर्नुपरे पनि सुधारका कामलाई निरन्तरता दिइएको बताए।
उनका अनुसार बसपार्कको सरसफाइका लागि मात्रै दैनिक ५० जना सरसफाइकर्मी खटिने गरेका छन्। बसपार्क सञ्चालन र यससँग सम्बन्धित विभिन्न सेवाबाट सयौँले प्रत्यक्ष रोजगारी पाएका छन्।
सम्झौताअनुसार ल्होत्से बहुउद्देश्यीय प्रालिले काठमाडौं महानगरपालिकालाई वार्षिक एक करोड रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै आएको छ। सम्झौता अवधि समाप्त भएपछि बसपार्कभित्र निर्माण गरिएका सबै संरचना महानगरलाई हस्तान्तरण गरिने व्यवस्था छ।
दुईपटक आक्रमणको सिकार बन्यो ल्होत्से मल
बसपार्क परिसरमा रहेको ल्होत्से मल सञ्चालनमा आएको चार वर्षभित्र दुईपटक हिंसात्मक घटनाको सिकार बनेको थियो। २०७९ फागुनमा यातायात मजदुर आन्दोलनका क्रममा मलमा तोडफोड र लुटपाट भएको थियो भने २०८२ भदौमा भएको आन्दोलनका क्रममा आगजनी गरिएको थियो। यी दुई घटनाबाट क्रमशः करिब सात करोड र ३५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।
दैनिक १० हजारभन्दा बढी यात्रुको आवागमन
हाल नयाँ बसपार्कबाट दैनिक ३५० देखि ४०० वटा लामो दूरीका सार्वजनिक सवारी सञ्चालन हुँदै आएका छन्। दैनिक १० हजारभन्दा बढी यात्रुले बसपार्क प्रयोग गर्ने गरेका छन् भने यहाँबाट देशका ६० भन्दा बढी जिल्लामा नियमित बस सेवा सञ्चालन भइरहेको छ।
राति आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि होटल तथा लजको व्यवस्था गरिएको छ। साथै, परम्परागत टिकट प्रणालीलाई प्रतिस्थापन गर्दै कम्प्युटराइज्ड तथा अनलाइन टिकटिङ सेवा विस्तार गरिएको छ। पूर्वतर्फ सञ्चालन हुने १०० भन्दा बढी बसमा अनलाइनमार्फत टिकट बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ।
यातायात व्यवसायीका अनुसार अनलाइन टिकटिङले यात्रु ठगिने जोखिम घटाएको छ भने घरबाटै टिकट बुक गर्न सकिने सुविधा थपिएको छ। अधिकांश बसमा सिसी क्यामरा जडान गरिएकाले यात्रुको सुरक्षा पनि थप मजबुत भएको छ।
आर्थिक गतिविधिको केन्द्र बन्दै गोँगबु
नयाँ बसपार्क सञ्चालनसँगै गोँगबु, टोखा र माछापोखरी क्षेत्रको आर्थिक गतिविधिमा उल्लेखनीय विस्तार भएको छ। बसपार्क आसपास करिब एक हजार होटल तथा सयभन्दा बढी दोहोरी रेष्टुराँ, डान्सबार र अन्य व्यवसाय सञ्चालनमा छन्। यसबाट हजारौँले रोजगारी पाएका छन् भने काठमाडौं महानगरपालिकाले पनि वार्षिक करोडौँ रुपैयाँ राजस्व संकलन गर्दै आएको छ।
काठमाडौं महानगरपालिकाले पछिल्लो समय उपत्यकाभित्र विभिन्न स्थानबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीलाई क्रमशः नयाँ बसपार्कबाट सञ्चालन गर्ने नीति अघि बढाएको छ। सोहीअनुसार धादिङ, नुवाकोट, रसुवा लगायत जिल्लाका बससमेत नयाँ बसपार्कबाट सञ्चालन हुन थालेका छन्।
यातायात व्यवसायीहरूले भने सवारी साधनको संख्या निरन्तर बढिरहेकाले भविष्यमा बसपार्कको क्षमता विस्तार आवश्यक रहेको औँल्याएका छन्। उनीहरूका अनुसार केन्द्रीय बसपार्कलाई अझ आधुनिक र नमूना बनाउन सरकार, महानगर, यातायात व्यवसायी र व्यवस्थापन पक्षबीच निरन्तर सहकार्य आवश्यक छ।








