
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष बिरेन्द्रराज पाण्डेले विद्युत उत्पादन बढेसँगै खपत विस्तार गर्न उत्पादनमूलक उद्योगको विकास अपरिहार्य रहेको बताएका छन्।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै पाण्डेले सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै त्यसअनुसार खपत सुनिश्चित गर्न औद्योगिक विस्तार आवश्यक रहेको बताए।
“आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य लिइएको छ,” उनले भने, “त्यसलाई खपत गर्न उत्पादनमूलक उद्योगहरूको विकास अनिवार्य छ।”
उनले विद्युत व्यापार (पावर ट्रेडिङ) र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने सरकारको नीति स्वागतयोग्य रहेको पनि बताए। ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई विस्तार गर्न सके मात्र उत्पादन र खपत दुवै पक्ष सन्तुलित रूपमा अघि बढ्ने उनको भनाइ थियो।
पाण्डेले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना ढिला नगरी अघि बढाउनुपर्नेमा पनि जोड दिए। प्राधिकरणलाई समयानुकूल र प्रभावकारी बनाउन संरचनागत सुधार आवश्यक रहेको उनले बताए।
उनका अनुसार ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि उत्पादन वृद्धि मात्र होइन, खपत विस्तार, पूर्वाधार सुदृढीकरण र संस्थागत सुधार एकैसाथ अघि बढाउनुपर्ने आवश्यकता छ।

