
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले ऊर्जा क्षेत्रका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट स्वागतयोग्य रहेको बताएका छन्।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनमा शुभकामना मन्तव्य दिँदै अग्रवालले ऊर्जा क्षेत्रको विकास र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने सरकारको नीतिको प्रशंसा गरे।
उनले सरकारले विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था गरेको उल्लेख गर्दै यसले ऊर्जा क्षेत्रको विकासमा नयाँ अवसर सिर्जना गर्ने बताए। साथै ऊर्जा क्षेत्रका विभिन्न समस्याको समाधान गर्ने उद्देश्यसहित बजेट आएको भन्दै त्यसको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिए।
“सरकारले ऊर्जा क्षेत्रका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट स्वागतयोग्य छ,” उनले भने, “विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई भित्र्याउने व्यवस्था गरिएको छ। यसका साथै क्षेत्रका विभिन्न समस्याको समाधान गर्ने खालका कार्यक्रम समेटिएकाले यो सकारात्मक कदम हो।”
अग्रवालले नेपाल लामो समयदेखि राम्रो नीति भए पनि प्रभावकारी कार्यान्वयनको अभावमा पछाडि परेको टिप्पणी गरे। “नेपाल नीति र नियतिको दलदलमा फसेको छ,” उनले भने, “नीति जहिले पनि राम्रो आउने तर नियति राम्रो नहुने अवस्था रह्यो। त्यसैले राम्रो नीति बने पनि अपेक्षाअनुसार काम हुन सकेन।”
उनले अब नीतिगत घोषणाभन्दा कार्यान्वयनमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए। ऊर्जा क्षेत्रको विकासका लागि सरकारले लिएका निर्णयहरू व्यवहारमा उतार्न सके मात्र अपेक्षित परिणाम प्राप्त हुने उनको भनाइ थियो।
अग्रवालले नेपालको जलस्रोतलाई देशको सबैभन्दा ठूलो प्राकृतिक सम्पत्तिको रूपमा चित्रण गर्दै यसलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताए। “नेपालको पानी भनेको सुनको खानी हो,” उनले भने, “यसको सही उपयोग गर्न सके देशको आर्थिक रूपान्तरण सम्भव छ।”
ऊर्जा क्षेत्रले नेपाललाई समृद्धितर्फ लैजान सक्ने उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए।

