Nepal Purbadhar

‘१५ हजार मेगावाट निर्यातको लक्ष्य निजी क्षेत्रबिना सम्भव छैन’-दीर्घायु कुमार श्रेष्ठ


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विद्युत व्यापार (पावर ट्रेडिङ) र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउनुपर्ने धारणा व्यक्त गरेका छन्।

इप्पानको २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनमा शुभकामना मन्तव्य दिँदै श्रेष्ठले विद्युत उत्पादन क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदान उल्लेखनीय रहेको भन्दै अब व्यापार र प्रसारण पूर्वाधार निर्माणमा समेत निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए।

“उत्पादन क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदान अत्यन्तै सराहनीय छ,” उनले भने, “प्राइभेट सेक्टरलाई पावर ट्रेडिङ र प्रसारण लाइन निर्माणमा प्रवेश गराउनुपर्छ भन्नेमा म स्पष्ट छु। निजी क्षेत्रलाई यी क्षेत्रमा प्रवेश गराउनुपर्छ भनेर मन्त्रीज्यूलाई पनि निरन्तर आग्रह गर्दै आएको छु।”

श्रेष्ठले सरकारले अघि सारेको १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए। उत्पादन क्षमता विस्तारदेखि अन्तरदेशीय विद्युत व्यापारसम्मका क्षेत्रमा निजी क्षेत्रको सक्रिय सहभागिताविना महत्वाकांक्षी लक्ष्य पूरा गर्न कठिन हुने उनको भनाइ थियो।

उनले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रले ठूलो लगानी गरिरहेको भए पनि वनसम्बन्धी विभिन्न कानुनी तथा प्रशासनिक जटिलताका कारण आयोजनाहरू प्रभावित हुँदै आएको बताए। यस्ता समस्याले ऊर्जा विकासको गति सुस्त बनाएको उल्लेख गर्दै उनले वन क्षेत्रसँग सम्बन्धित अवरोध समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले वनसम्बन्धी समस्याको समाधानका लागि आवश्यक पहल गरी निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए। ऊर्जा क्षेत्रको तीव्र विकासका लागि नीतिगत तथा प्रक्रियागत बाधा हटाउँदै लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

उनका अनुसार उत्पादन, प्रसारण र विद्युत व्यापारका क्षेत्रमा निजी क्षेत्रको थप सहभागिताले देशको ऊर्जा विकासलाई गति दिनुका साथै विद्युत निर्यातको राष्ट्रिय लक्ष्य प्राप्तिमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।


Read Previous

विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खुला गर्नुपर्छ : कृष्णप्रसाद आचार्य

Read Next

ऊर्जा क्षेत्रको बजेट स्वागतयोग्य, अब कार्यान्वयनमा जोड दिनुपर्छ : कमलेश अग्रवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar