
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत उत्पादनसँगै व्यापार र वितरण क्षेत्रमा पनि निजी क्षेत्रलाई प्रवेश गर्न दिनुपर्ने बताएका छन्।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गर्दै आचार्यले सरकारले उत्पादन क्षेत्रमा निजी क्षेत्रलाई अवसर दिएर सकारात्मक परिणाम हासिल गरेको उल्लेख गर्दै अब व्यापार र वितरणमा पनि निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने धारणा राखे।
“सरकारले जसरी निजी क्षेत्रलाई विद्युत उत्पादनमा खुला गर्यो, त्यसैगरी विद्युत व्यापार र वितरणमा पनि खुला गर्नुपर्छ,” उनले भने, “उत्पादनमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्र सक्षम र तयार छ।”
आचार्यले ऊर्जा क्षेत्रको विकास र लगानी प्रवर्द्धनका लागि एकद्वार प्रणाली तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए। ऊर्जा क्षेत्रमा अझै पनि विभिन्न प्रशासनिक तथा नीतिगत जटिलताले परियोजनाहरू प्रभावित भइरहेको भन्दै उनले लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे।
उनले ऊर्जा क्षेत्रको विकासमा विभिन्न अवरोधहरू बाधक बनेको उल्लेख गर्दै ती समस्याको समाधानमा सरकार गम्भीर हुनुपर्ने बताए। जलविद्युत आयोजनाहरूको निर्माण तथा सञ्चालन प्रक्रियामा देखिएका ढिलाइले लगानीकर्ताहरू थप मारमा परेको उनको भनाइ थियो।
आरसीओडी (Revised Commercial Operation Date) थप गर्ने विषयमा बोल्दै आचार्यले सरकारकै कारण ढिलाइ भएका आयोजनाहरूलाई न्यायोचित व्यवहार गर्नुपर्ने बताए। “आरसीओडी थप गर्दा कसलाई के घाटा हुन्छ ?” भन्दै उनले प्रश्न गरे।
उनले सरकारी निकायका कारण विभिन्न चरणमा रोकिएका वा ढिलाइ भएका जलविद्युत आयोजनाहरूको आरसीओडी एकमुष्ट रूपमा थप गरिनुपर्ने माग गरे। यसले लगानीकर्ताको मनोबल बढाउनुका साथै ऊर्जा क्षेत्रमा थप लगानी आकर्षित गर्न सहयोग पुग्ने उनको विश्वास थियो।
आचार्यले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य तथा नीतिगत सुधार अपरिहार्य रहेको समेत बताए।

