Nepal Purbadhar

सडक सञ्जालमा जोडियो अपिहिमाल, पालिका केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्य


दार्चुला।दार्चुलाको दुर्गम अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ। खलङ्गाबाट करिब २३ कोष उत्तर-पश्चिममा रहेको गाउँपालिकाको वडा नं. ३ स्थित गौड्याखोलासम्म सडक पुगेपछि स्थानीयमा उत्साह थपिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म सडक सञ्जालसँग नजोडिएका स्थानीय तहलाई सडक पहुँचमा ल्याउने लक्ष्यसहित अपिहिमाल गाउँपालिका, साइपाल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने योजना आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ। सङ्घीय सरकारले पनि उक्त योजनालाई विशेष प्राथमिकतामा राखेको छ।

वर्षौंदेखि सडक अभावका कारण यातायात, विकास निर्माण तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्दै आएका स्थानीयले सडक विस्तारलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। स्थानीय खडक रोकायाले सडक गाउँसम्म पुग्न थालेपछि ढुवानी खर्च घट्ने र जनजीवन सहज हुने बताए। उनका अनुसार मकरीगाडदेखि खण्डेश्वरी घुसासम्म सामान ढुवानी गर्दा प्रतिकिलो १० रुपैयाँसम्म खर्च लाग्ने गरेको थियो।

अपिहिमाल-५ को मकरीगाडसम्म सीमित रहेको सडक अहिले भट्टार गाउँसम्म विस्तार भइसकेको छ। स्थानीय दीपक टमटाले सडक गाउँपालिका केन्द्रसम्म पुग्ने सम्भावना बढेकाले दैनिक जीवन सहज हुने विश्वास व्यक्त गरे। उनका अनुसार भट्टारभन्दा माथिल्लो क्षेत्रमा समेत सडक निर्माण जारी रहेको छ।

गाउँपालिकाको केन्द्र वडा नं. ४ स्थित नौपाटामा पर्छ। निर्माणाधीन सडकले वडा नं. ३ र ४ लाई जोड्नेछ। चट्टानी भूभाग कम भएकाले अब सडक निर्माणले थप गति लिने अपेक्षा गरिएको छ।

यद्यपि गाउँपालिकाका वडा नं. १ र २ तत्काल सडक सञ्जालमा जोडिने सम्भावना कम रहेको स्थानीयको भनाइ छ। तर वडा नं. ३ को काफलधारसम्म सडक पुग्दा ती क्षेत्रका बासिन्दालाई पनि आंशिक राहत पुग्ने अपेक्षा गरिएको छ।

सडक निर्माणको जिम्मेवारी विएनबी कन्स्ट्रक्सन सुर्खेतले लिएको छ। निर्माण कम्पनीका प्रतिनिधि धर्मसिंह धामीका अनुसार चालु आर्थिक वर्षभित्र सम्पूर्ण काम सम्पन्न नहुने भए पनि आगामी आर्थिक वर्षमा गाउँपालिका केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्यसहित काम भइरहेको छ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म पुग्ने जानकारी दिए। उनका अनुसार मकरीगाड-भट्टार खण्डको कठिन चट्टानी भाग पार गरिसकिएकाले अब सडक निर्माण सहज रूपमा अघि बढ्नेछ।

अध्यक्ष बोहराले पारिवगर-मकरीगाड सडक स्तरोन्नतिको ठेक्का प्रक्रिया सम्पन्न भइसकेको र आगामी दुई वर्षभित्र कालोपत्रेसहित स्तरोन्नति सम्पन्न हुने बताए। त्यस्तै, मकरीगाडमा मोटरेबल पुल निर्माणको ठेक्का समेत भइसकेको छ। अपिहिमाल-४ र ३ जोड्ने सडकका लागि सात करोड रुपैयाँ बजेट सुनिश्चित भएकाले आगामी आर्थिक वर्षमा सडक गाउँपालिका केन्द्रसम्म पुग्ने विश्वास व्यक्त गरिएको छ।

सडक विस्तारसँगै विकास निर्माण सामग्री ढुवानीमा लाग्ने लागत घट्ने, पूर्वाधार निर्माणमा गति आउने तथा दुर्गम अपिहिमालको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


Read Previous

पर्यटन प्रवर्द्धनका लागि दोस्रो लाङटाङ ट्रेल रन शुरू- (फोटो फिचर)

Read Next

अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar