
किन्शासा । अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिन थालेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको पछिल्लो विश्लेषणअनुसार संक्रमित व्यक्तिहरूलाई समयमै पहिचान गरी अलग राख्न नसकिए आगामी तीन महिनाभित्र सङ्क्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने जोखिम रहेको छ।
सीडीसीका अनुसार हालको कमजोर नियन्त्रण अवस्थाले निरन्तरता पाएमा संक्रमितको संख्या २० हजार नाघ्ने सम्भावना ६५ प्रतिशतसम्म रहेको छ। स्वास्थ्य विज्ञहरूले संक्रमितलाई छिटो पहिचान गरी उपचार केन्द्रमा अलग राख्नु नै महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्।
तर प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवाको सीमित पहुँच, जनशक्ति अभाव तथा असुरक्षाका कारण संक्रमणको वास्तविक अवस्था आकलन गर्न कठिन भइरहेको जनाइएको छ। इबोला नियन्त्रण अभियानमा संलग्न वरिष्ठ अधिकारी सतीश पिल्लईले संक्रमणको वास्तविक अवस्था अझै पूर्ण रूपमा स्पष्ट नभएको बताए। उनका अनुसार उपचार र अलग राख्नुपर्ने संक्रमितको संख्या अनुमानभन्दा बढी हुन सक्ने संकेत देखिएका छन्।
विश्व स्वास्थ्य संगठन (WHO) र अफ्रिकी संघको सार्वजनिक स्वास्थ्य निकायले कङ्गो तथा छिमेकी मुलुकहरूमा फैलिएको इबोला महामारी नियन्त्रणका लागि आगामी छ महिनामा ५१ करोड ८० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ। उक्त रकम उपचार सेवा, निगरानी प्रणाली, खोप अभियान, जनचेतना कार्यक्रम तथा सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षा सुदृढीकरणमा खर्च गरिने बताइएको छ।
महामारी गत मे १५ मा कङ्गोको उत्तरपूर्वी क्षेत्रमा औपचारिक रूपमा घोषणा गरिएको थियो। स्वास्थ्य अधिकारीहरूका अनुसार दुर्लभ बन्डिबुग्यो प्रजातिको इबोला भाइरस औपचारिक घोषणा हुनुअघि नै समुदायमा फैलिन थालेको थियो।
पछिल्लो तथ्यांकअनुसार कङ्गोमा हालसम्म ३८१ जनामा संक्रमण पुष्टि भएको छ भने ६४ जनाको मृत्यु भइसकेको छ। संक्रमण विशेषगरी तीन प्रान्तमा फैलिएको छ, जसमध्ये इटुरी प्रान्त सबैभन्दा बढी प्रभावित बनेको छ। कुल संक्रमितमध्ये करिब ९० प्रतिशत र मृत्यु भएका व्यक्तिमध्ये ७६ प्रतिशत इटुरी प्रान्तकै रहेका छन्।
छिमेकी युगान्डामा पनि संक्रमण फैलिन थालेको छ। त्यहाँ हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। यद्यपि उपचारपछि कङ्गोमा सात जना र युगान्डामा दुई जना संक्रमित पूर्ण रूपमा निको भएका छन्।
स्वास्थ्य अधिकारीहरूले महामारी अझै नियन्त्रणबाहिर जाने जोखिम रहेको चेतावनी दिएका छन्। उनीहरूले संक्रमितको खोजी, सम्पर्कमा आएका व्यक्तिहरूको निगरानी, उपचार सेवाको विस्तार तथा जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्।
